
काठमाण्डु, ६ मंसिर– एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले राजीनमा दिनुपर्ने माग अघि सारेको छ ।
निधिका कारण कुटनीतिक रुपमा नेपालको अन्तर्राष्ट्रिय बेइज्जती भएको र सरकारमाथि समेत शंका उत्पन्न गराउने काम गरेकाले उनले राजीनामा दिनुपर्ने माग मोर्चाको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनका क्रममा नेपाल आउँदा गर्ने भनिएको जनकपुर भ्रमण रद्द भएको भन्दै विज्ञप्ति जारी गरेपछि निधि विवादमा छन् ।
विज्ञप्तिमा निधिले २२ दलीय मोर्चाको उदण्ड र गैरजिम्मेवार व्यवहारका कारण मोदीले भ्रमण रद्द गरेको आरोप लगाएका थिए ।
यद्यपि नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयले निधिको दाबीप्रति आश्चर्य व्यक्त गर्दै मोदी भ्रमणको पूर्वनिर्धारित तालिकामा कुनै हेरफेर नभएको बताएका थिए ।
‘हुँदै नभएको हावादारी कुरा गरेर जसरी मन्त्री निधिले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गरेका छन्’, २२ दलीय मोर्चाको नेतृत्व गरेका एमाओवादी नेता रामचन्द्र झाले काठमाण्डु टुडेसँग भने, ‘हामीले माग्नै नपर्ने हो, यत्रो ठूलो प्रकरणमा नैतिकता भए उनी आफैंले राजीनामा दिनुपर्ने हो ।’
निधिका कारण नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको आरोप झाले लगाए ।
सवारी मन्त्रीले त भ्रमण सफल पानुपथ्र्यो । आफ्नो अपरिपक्वता ढाक्न निधिले उल्टै आफूहरुर्ला दोष दिएर विज्ञप्ति निकालेकामा उनले आक्रोश पोखे ।
निधिलाई बर्खास्त गर्न बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को माग
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पनि मन्त्री निधिको राजीनामा माग गरेको छ । कोषका अध्यक्ष रामकुमार शर्माले निधिसँग एक मिनेट पनि पदमा बस्ने नैतिकता नरहेको बताए ।
‘निधिको गैरजिम्मेवार र अनैतिक व्यवहारले जनकपुरबासी दु:खित र आक्रोशित छन्’, शर्माले भने, ‘थोरै भए पनि राजनीतिक संस्कार र नैतिकता पनि छ भने उनले तत्काल राजीनामा दिनुपर्छ ।’
शर्माले स्वेच्छाले राजीनामा नदिए दुई देशबीचको सम्बन्धमा तिक्तता ल्याउने गैरजिम्मेवार हर्कतमा मुछिएका आफ्ना मन्त्रीलाई प्रधानमन्त्री सुशील कोइरालले बर्खास्त गर्नुपर्ने बताए ।
शर्माले सवारी मन्त्री भएर मोदी भ्रमण सफल पार्न लाग्नुपर्नेमा मन्त्री निधि उल्टै भ्रमण रद्द गर्ने हर्कतमा उत्रिएकामा जनकपुरबासीले उनलाई घृणा गरिरहेको आरोप लगाए ।
‘जनकपुरबासीले मोदीको भ्रमणलाई ठूलो आशाका साथ हेरिरहेका छन्, मधेसमा उत्साहको वातावरण छ’, शर्माले भने, ‘जनभावनाविपरीत काम गरेका कारण आज मिथिला र सिंगो मधेसभर निधिजी घृणाको पात्र बन्नुभएको छ ।’
शर्माले पनि मोदी भ्रमण र सार्क सम्मेलन असफल पार्ने नियतका साथ निधिले भ्रमण रद्द भएको अनावश्यक हल्ला चलाएको दाबी गरे ।