कावासोती, ६ मंसिर– नलपरासीमा मात्र पाइने ‘गादुल’ चरा संरक्षणको अभावमा संकटमा परेको छ । लोपोन्मुख चमेरा प्रजातिको यो चरा संरक्षणको अभावमा लोप हुन् लागेको हो । सरकारी उदासिनता र स्थानीयवासीले संरक्षणमा चासो दिन छाडेपछि भुजहवा– ४, भन्सारटोलको पाकडीको ठूलो रूखमा रहेको यो स्तनधारी चरा अहिले संकटमा पर्दै गएको छ ।
फलफूल मात्रै खाएर बाँच्ने उक्त चरा जोगाउन समस्या देखिएको स्थानीयवासी ६० वर्षीय विक्रम यादवले बताए । उनकै आागन नजिकै रहेको पाकडीका रूखमा बस्दै आएका २ हजारको संख्यामा रहेका चरा घट्दै गएका छन् ।
यादवका अनुसार अहिले संख्या घटेर डेढ हजारमा झरेको छ । सरकारी निकायबाट यसको संरक्षणका लागि कुनै पहल नभएको उनले गुनासो गरे । ‘केही वर्षअगाडिसम्म शिकारीले पासामा पारेर मार्ने गरेका थिए’, उनल भने, ‘गाउँलेले सम्झाउने काम गरेपछि अहिले पासो लगाउने क्रम भने घटेको छ ।’ रासस