काठमाण्डु, ५ मंसिर– आगामी मंसिर १० र ११ गते काठमाण्डुमा हुने अठारौंँ सार्क शिखर सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री सुशील कोइराला नेतृत्वमा २४ सदस्यीय नेपाली टोली सहभागी हुने भएको छ ।
सम्मेलनमा प्रधानमन्त्री कोइरालाका साथै परराष्ट्रमन्त्री पाण्डे, मुख्यसचिव लीलामणि पौडेल, कामु परराष्ट्र सचिव वैरागी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री, बङ्गलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ, पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्याल र परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन विभागका प्रमुख एवम् सहसचिव यज्ञबहादुर हमाल छन् ।
प्रतिनिधिमण्डलका अन्य सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव खगनाथ अधिकारी, नयाँदिल्लीस्थित नेपाली दूतावासका कावा राजदूत कृष्णप्रसाद ढकाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला, उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडा, परराष्ट्र मन्त्रालयको सार्क महाशााखाका उपसचिवद्वय मणिरत्न शर्मा र आनन्दप्रसाद शर्मा, मन्त्रालयका उपसचिव रीता धिताल र लोकबहादुर पौडेल क्षेत्री, सार्क महाशाखाका शाखा अधिकृतद्वय भोगेन्द्र लिङ्देन र विनोद मुखिया छन् ।
सम्मेलनमा सहभागी हुने पाँच सदस्यीय सल्लाहकार समूहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपाल, प्रमुख स्वकीय सचिव वसन्त गौतम र परराष्ट्रमन्त्रीका सल्लाहकार अश्विन पुडासैनी छन् ।
यसैगरी परराष्ट्रमन्त्री पाण्डेको नेतृत्वमा सहभागी हुने ३६औं सार्क मन्त्रिपरिषद् बैठकमा कामु परराष्ट्र सचिव वैरागी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सिटौला, ऊर्जा सचिव क्षेत्री, बङ्गलादेशका लागि नेपाली राजदूत श्रेष्ठ, पाकिस्तानका लागि नेपाली राजदूत पौड्याल र परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन विभागका प्रमुख एवम् सहसचिव हमाल छन् ।