काठमाण्डु, ५ कात्तिक– फोटो पत्रकारहरुको छाता संगठन पीजे क्लव नेपालले निजी सञ्चार माध्यमका प्रतिनिधिलाई सार्क सम्मेलन स्थल राष्ट्रिय सभागृहको तस्वीर खिच्न लगाइएको बन्देज तत्काल हटाउन सरकारसँग माग गरेको छ ।
पिजे क्लवको नेतृत्वमा काठमाण्डुको बबरमलमा जम्मा भएर फोटो पत्रकारले तस्वीर खिच्न पाउनुपर्ने मागग गर्दै शुक्रबार क्यामेरा र सार्क प्रेस पास सडकमा तेस्र्याएर विरोध प्रदर्शन गरे ।
सञ्चारमन्त्री मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई भेटी प्रतिबन्ध हटाउन आग्रह गरिए पनि सुनुवाई नगरिएको भन्दै फोटोपत्रकार आन्दोलित भएका हुन् ।
सरकारले आगामी १० र ११ मंसिरमा काठमाण्डुमा हुने शिखर सम्मेलनका लागि निजी सञ्चार माध्यमका फोटोपत्रकार र टेलिभिजनका क्यामरापर्सनलाई मुख्य आयोजना स्थल राष्ट्रिय सभागृहमा प्रवेश निषेश गरेपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।
पिजे क्लबका अध्यक्ष प्रकाश माथेमाले बन्देज नहटाइए सार्क सम्मेलनसँग सम्बन्धित कुनै पनि तस्वीर नखिच्ने रसरकारी कार्यक्रममा कालो पट्टी बाँधेर विरोध जनाउने बताए ।
महासचिव विकास कार्कीले सरकारको नियतमै शंका भएको भन्दै लोकतान्त्रिक मुलुकको सरकारले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरेको आरोप लगाए ।
नेपाल पत्रकार महासंघका सचिव धुव लम्सालले मुलुकमा भएका परिवर्तनको हरेक आन्दोलनमा निजी क्षेत्रका सञ्चार माध्ययमको भूमिका निर्णायक भएको भन्दै तत्काल प्रवेश पासको व्यवस्था गर्न सरकारसँग माग गरे ।