
काठमाण्डु, ५ मंसिर– नेकपा–माओवादीले असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षलाई शनिबारबाट राजधानीमा सुरु हुने केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी हुन आग्रह गरेको छ ।
पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विप्लवलाई बैठकमा आएर आफ्ना कुरा राख्न भनेको हो ।
बैठकपछि महासचिव रामबहादुर थापाद्वारा जारी विज्ञप्तिमा पार्टी एकता कायम राख्न बैठकमा सहभागी हुन अपिल गरिएको छ ।
‘केही समयदेखि पार्टीमा कतिपय जिम्मेवार कमरेडहरुबाट साङ्गठनिक विधि, प्रक्रिया र अनुशासन उल्लङ्घन लगायतका समस्याहरु पैदा भइरहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘ती सबै विषयहरुमा प्लेनममा छलफल हुने भएकोले समस्यालाई गम्भीरता र इमानदारिताका साथ लिई पार्टी एकतालाई कायम राख्न सबै कमरेडहरुलाई प्लेनममा सहभागी हुन विशेष आह्वान गर्ने निश्चित गरिएको छ ।’
यसअघि बादलले नै विप्लवमाथि बाम खोल ओढेको दक्षिणपन्थी र फुटपरस्तको आरोप लगाएका थिए ।
अध्यक्ष मोहन वैद्यसहित पार्टी नेतृत्व अकर्मण्यतामा फसेको भन्दै विप्लव समूहले केही दिनअघि कपिलवस्तुको शिवगढी जंगलमा छुट्टै भेला गरेको थियो ।
पार्टीको नीति, विधि र अनुशासनविपरीत भेला गरेको भन्दै संस्थापनले विल्पव र पोलट्ब्यिुरो सदस्य खड्गबहादुर विकलाई स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।
यसैबीच विप्लव समूहका नेता विस्तारित बैठमका नजाने भएका छन् । आफूहरुसँग स्पष्टीकरण माग्ने निर्णय फिर्ता लिएर अध्यक्ष वैद्य र महासचिव थापाले माफी नमागेसम्म बैठकमा नजाने चेतावनी उक्त समूहले दिएको छ ।