काठमाण्डु, ५ मंसिर – अघिल्लो दिन मन्त्री विमलेन्द्र निधिले विज्ञप्ती जारी गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण ‘भारतीय दुतावासले रद्द’ गरेको उल्लेख गरे । दोस्रो दिन भारतीय राजदुत रणजीत रेले भ्रमण रद्द भएको आफूलाई थाहा नभएको बताए ।
नेपालको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले पनि शुक्रबारै पत्रकार सम्मेलन गरी भ्रमण रद्द भएको कुनै पनि जानकारी मन्त्रालयमा नआएको बताए ।
आखिर झुठो कसले बोल्यो ? मन्त्री निधीले, परराष्ट्रको कुनै अधिकारीले वा भारतीय दूतावासले ?
निधिले ‘काठमाण्डु स्थित भारतीय दुतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई दिएको जानकारी र परराष्ट्र मन्त्रालयले मलाई दिएको जानकारी’ भनेर आफ्नो विज्ञप्तीमा उल्लेख गरेका थिए । भोलिपल्टको राजधानीमै भएको सार्वजनिक कार्यक्रममा राजदुत रेले भ्रमण रद्द भएको आफूलाई थाहा नभएको बताए ।
शुक्रबार नै गृह सचिव सूर्य सिलवालले जनकपुरमै पुगेर फेरि ‘भ्रमण रद्द नभएको’ भन्दै तयारीको अवलोकन गरे ।
आखिर कसले झुठो बोल्यो त ? कुटनीतिक वृत्तमा अहिले सबैभन्दा चर्चाको विषय यही भएको छ । तर, झुठो बोलेको जिम्मेवारी कसैले लिएको छैन ।