प्रधानमन्त्रीले गरे सार्क सम्मेलन स्थल निरीक्षण

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ८:४६ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन हुने स्थल राष्ट्रिय सभागृहको आज निरीक्षण गरेका छन् ।

PM Inspect City Hall

मंसिर १० र ११ गते सो स्थानमा शिखर सम्मेलन हुँदैछ ।

प्रधानमन्त्री कोइरालाले राष्ट्र प्रमुख तथा सरकार प्रमुख रहने मञ्च,  आराम कक्ष, शौचालय ,सभाहलको कुर्सी, माइक, आगन्तुक तथा सञ्चारकर्मी व्यवस्थापन र सरसफाइलगायत कक्षको निरीक्षण गरे ।

प्रधानमन्त्री कोइरालालाई सभागृहको मर्मत तथा सम्भारको जिम्मेवारी पाएको सहरी विकास मन्त्रालयका निमित्त सचिव सुरेशप्रकाश आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलगायत अधिकारीले तयारीबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री कोइराला पोडियममा आफै उभिएर ध्वनि परीक्षण गर्नुका साथै सम्मेलनमा प्रस्तुत गरिने धुन पनि सुनेका थिए ।

निमित्त सचिव आचार्यले तयारी कार्यप्रति प्रधानमन्त्री सन्तुष्ट भएको बताए ।
उनले भने, ‘अब सरसफाइमात्र बाँकी छ । त्यो पनि बिहीबार नै सकिएको हो तर अनुगमन र निरीक्षण हुँदा सुरक्षाकर्मीलगायतले जुत्ता नखोली भित्र जानेक्रम भएकाले कार्पेटमा पुनः फोहोर हुने गरेको छ ।’

आजै सहरी विकास मन्त्री डा नारायण खड्काले पनि सो स्थल निरीक्षण गरेका थिए ।

सो स्थलमा सार्कका सदस्य मुलुकका सुरक्षा र कुटनीतिक अधिकारीले स्थलगत अवलोकनको कार्य जारी राखेका छन् । आजै श्रीलङ्कका उच्च सुरक्षा अधिकारीले सो स्थलमा अवलोकन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us