
काठमाण्डु, ५ मंसिर – भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले भारतलाई सार्क देशहरुको मुटु भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । शुक्रबार ‘द हिन्दू’मा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री तोब्गेले भारतले नै सार्कमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने विचार व्यक्त गरेका छन् ।
द हिन्दूका पत्रकार सुहासिनी हैदरलाई दिएको अन्तर्वार्तामा उनले मोदीले छिमेकी मामिलामा प्रष्ट रुपले व्यवहार गर्न सक्ने नेताका रुपमा चित्रण गरेका छन् । तोब्गेले भनेका छन्, ‘भारत सार्कको हृदयभूमि हो, भारतले यसमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’
सार्क सम्मेलन सधैं भारत र पाकिस्तान सम्बन्धले ओझेलमा पार्ने बारे सोधिएको प्रश्नमा तोब्गेले त्यसबाट सार्क मुलुकहरु भाग्न नसक्ने बताए । ‘हो, धेरै सार्क सम्मेलनहरुलाई भारत र पाकिस्तानको सम्बन्धले छायाँमा पारेको छ । … हेरौं, यसपटकको काठमाण्डु बैठकले केही ‘ब्रेक थ्रु’ गर्न सक्छ ।’
तोब्गेले काठमाण्डुमा उर्जा सहयोग, रेलवे र यातायात सम्बन्धी तीनवटा सम्झौतामा हस्ताक्षर भयो भने त्यो ठूलो सफलता हुने विश्वास पनि व्यक्त गरे ।
भारत र पाकिस्तानी प्रधानमन्त्री काठमाण्डुमा भेट्ने र कुरा गर्नेमा उनी आशावादी पनि देखिए । ‘मोदी र सरिफ (नवाज सरिफ) दुवैजना विश्व नेता हुनुहुन्छ, उहाँहरु भेट्नुभयो भने धेरै राम्रो काम हुन सम्भव छ ।’