काठमाण्डु, ५ मंसिर– यातायात मन्त्रीले विज्ञप्ती जारी गरेरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण स्थगित भएको जानकारी गराएको चौबिस घण्टा नबित्दै गृह सचिव सूर्य सिलवालले भ्रमण नरोकिएको बताएका छन् ।
जनकपुरमा शुक्रबार भएको पत्रकार सम्मेलनमा सचिव सिलवालले मोदीको जनकपुर भ्रमण रद्द भएको खबर नआएको बताएका हुन् । उनले परराष्ट्र मन्त्रालयले अहिलेसम्म गृहलाई भ्रमण रद्द भएको खबर नदिएको पनि दाबी गरे ।
गृह सचिवको भनाइले सरकारभित्रै मोदी भ्रमणबारे फरक फरक धारणा सार्वजनिक भएको छ । बिहीबार यातायात मन्त्रीले विज्ञप्ती जारी गरेपछि भारतीय राजदूतले पनि यसबारे आफूलाई जानकारी नभएको बताएका थिए ।
जनकपुरमा भ्रमण तयारीका लागि गृह सचिवसहित सुरक्षा संयन्त्रका उच्च अधिकारीहरु समेत पुगिसकेका छन् । मोदीको सम्बोधनका लागि बाह्रविघामा गर्ने तयारी भइरहेको छ ।
सरकारभित्रै दुईथरी वक्तव्य आएपछि सरकारको कुटनीतिक व्यवस्थामाथि प्रश्न उठेको छ ।
यसैबीच मोदीको भ्रमणकै सम्बन्धमा शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।