काठमाण्डु, ५ मंसिर– राष्ट्रपति रामवरण यादवले काँग्रेस–एमालेले अघि सारेको सात प्रदेशको साझा प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डसँग शीतलनिवासमा शुक्रबार बिहान भएको भेटमा राष्ट्रपतिले काँग्रेस–एमालेको प्रस्ताव असान्दर्भिक रहेको बताएका हुन् ।
शीतलनिवास श्रोतका अनुसार यादवले उक्त प्रस्ताव मधेसी जनताको भावनाविपरीत ल्याइएको बताएका थिए ।
राष्ट्रपतिका सभासद छोरा चन्द्र मोहनले यसअघि नै उक्त प्रस्तावमा असन्तुष्टि जनाउँदै फिर्ता लिनुपर्ने मागसहित काँग्रेसमा हस्ताक्षर बुझाइसकेका छन् ।
‘काँग्रेस–एमालेले अघि सारेको सात प्रदेश मधेसी जनताको भावनाविपरीत छ’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘त्यसले मधेसको समस्या समाधान गर्दैन ।’
करिब एक घण्टासम्म चलेको भेटमा संविधान निर्माण र शान्ति प्रक्रियाका बाँकी कामबारे छलफल भएको थियो ।
भेटमा राष्ट्रपति यादवले शान्ति प्रक्रियाका एकमात्र हस्ताक्षरकर्ताको हैसियतमा संविधान लेखनमा सहमतिका साथ अघि बढ्न सुझाएका थिए ।
जवाफमा प्रचण्ण्डले काँग्रेस–एमाले विगतका सहमति र अन्तरिम संविधानको मर्म र भावनाविपरति अघि बढेकाले राजनीतिक जटिलता उत्पन्न भएको बताएको उनको निजी सचिवालयले जनाएको छ ।