
काठमाण्डु, ५ मंसिर– भारतीय पक्षले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण स्थगन भएको विषयमा आफूलाई केही थाहा नभएको बताएको छ ।
नेपालका लागि भारतीय राजदूत रणजीत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमण रद्द भएकोबारे दूतावासलाई कुनै जानकारी नरहेको बताए ।
रिपाेर्टर्स क्लबको साक्षात्कारमा राजदूत रेले मोदी भ्रमण रद्द भएको विषयमा आफ्नो सरकारी तवरबाट कुनै जानकारी नआएको बताए ।
‘दूतावासलाई मोदीको भ्रमण रद्द भएकोबारेमा जानकारी छैन’, रेले भने, ‘यसबारेमा विदेश मन्त्रालयमार्फत बुझ्दैछु ।’ कार्यक्रममा उनले मोदी भ्रमण स्थगनको हल्ला चलाइएकामा नेपाल सरकारको कडा आलोचना गरे ।
कुटनीतिक मर्यादाविपरीत सरकारी तर्फबाट विज्ञप्ति जारी गरिएको आरोप उनले लगाए ।
तत्काल विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारीपछि मात्रै दूतावासले मोदी भ्रमणको कार्यतालिका सार्वजनिक गरिने उनले बताए ।
सरकारका तर्फबाट बिहीबार विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले भारतीय पक्षकै आग्रहमा मोदीको धार्मिक भ्रमण स्थगन भएको दाबी गरेका थिए ।