शिक्षमा पहुँच बढाउन ‘खेल्दै सिक्ने केन्द्र’ सञ्चालनमा

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ३:३५ मा प्रकाशित

चितवन, ५ मंसिर– विद्यालय गएर छाडेका तथा विद्यालयबाहिर रहेका बालबालिका र किशोरकिशोरीलाई शिक्षाको पहुँच तथा गुणस्तरीय सिकाइका लागि यहाँ ‘खेल्दै सिक्ने केन्द्र’ सञ्चालनमा ल्याइएको छ । बालबालिकालाई अवसर अभिवृद्धि गरी सिकाइ प्रभावकारी बनाउन भरतपुरमा उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

समुन्नत नेपाल नामक संस्था, भरतपुर नगरपालिका र युनिसेफ नेपालसँगको सहकार्यमा दियालो परिवार चितवनले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा १० देखि १८ वर्षका बालबाललिका सहभागी गराइनेछ । बिहान ७ देखि साँझ ६ बजेसम्म केन्द्र खुला रहने बताइएको छ ।

विद्यालयबाहिर रहेका ती बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन खेल्दै सिक्ने केन्द्र र घुम्ती सिकाइ थलो कार्यक्रम ल्याएको दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक केदारनाथ खनालले जानकारी दिए । उनले फुर्सदको समयमा गएर उमेरअनुसार सिक्न पाइने व्यवस्था केन्द्रमा रहने बताए ।

कार्यक्रममा दिइएको जानकारीअनुसार ४ दशमलब ७ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर छन् भने ४४ प्रतिशत किशोरी विद्यालय गएर बीचैमा छाड्ने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us