कम उमेरमै मोतियाबिन्दु

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ३:१४ मा प्रकाशित

म्याग्दी, ५ मंसिर– म्याग्दी जिल्लामा कम उमेरमै मोतियाबिन्दुको समस्या भएका बिरामी भेटिन थालेका छन् । सामान्यतया वृद्ध अवस्थामा हुने मोतियाबिन्दुका कारण दृष्टि गुम्ने समस्या यहाँका ग्रामीण क्षेत्रका बालबालिका र युवामा पनि देखिन थालेको हो ।

बालबालिका र युवा अवस्थामै मोतियाबिन्दुको समस्या देखिनु स्वास्थ्यका हिसाबले असामान्य मानिने हिमालयन आँखा अस्पताल पोखराका चिकित्सक इन्द्रमान महर्जनले बताए । उनकाअनुसार यसै हप्ता पश्चिम म्याग्दीको दर्वाङ बजारमा सञ्चालित आँखा शिविरमा १० देखि ३२ वर्षका व्यक्तिमा समेत मोतियाबिन्दु भएको पाइएको छ । शिविरमा चार बालबालिकामा मोतियाबिन्दुको समस्या भेटिएपछि शल्यक्रिया गरिएको थियो ।

गरिबीका कारण पोषिला र भिटामिनयुक्त आहारा एवं आँखाको स्याहार–सुसारसम्बन्धी चेतनाको कमीका कारण कम उमेरमै मोतियाबिन्दु भएर आँखाको ज्योति गुमेको पाइएको चिकित्सक महर्जनले बताए ।

भौगोलिक रुपमा विकट क्षेत्रमा आँखा उपचारको पहुँच बढाउनका लागि स्थानीय लायन्स क्लबमार्फत घुम्ती शिविर र चेतनामूलक कार्यक्रममा जोड दिइएको चिकित्सक महर्जनको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us