
काठमाण्डु, ५ मंसिर– राप्रपा नेपालको असन्तुष्ट समूहले अध्यक्ष कमल थापालाई सच्चिन दबाब दिने उद्देश्यले आज राजधानीमा आफू पक्षधर कार्यकर्ताको राष्ट्रिय भेला गर्दैछ ।
यो सँगै संविधानसभाको चौथौ शक्ति राप्रपा नेपाल फुटको संघारमा पुगेको छ । असन्तुष्ट समूहले सह–अहध्यक्ष पदमसुन्दर लावती नेतृत्वमा गठन गरेको राप्रपा नेपाल शुद्धीकरण अभियनानको आयोजनामा कार्यकर्ता भेला आयोजना हुन लागेको हो । भेलालाई उक्त समूहको शक्ति प्रदर्शनका रुपमा हेरिएको छ । भेलामा देशभरबाट ११ सय प्रतिनिधि सहभागी हुने अभियानले जनाएको छ ।
भेलामा बालकृष्ण न्यौपानेले राजनीतिक, गणेश शेरचनले सांगठनिक र सगुनसुन्दर लावतीले जनवर्गीय संगठनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन् ।
अभियानका महासचिव श्याम तिमल्सिनाले आज र भोलि दुई दिनसम्म चल्ने भेलालले थापाको स्वच्छेचारी र निरंकुश शैली सुधार गर्न अल्टिमेटम दिने बताए । अभियानले थापाको कार्यशैली सुधार नभए पार्टी एकीकृत रुपमा अघि बढ्न नसक्ने भन्दै अलग भएर नयाँ शक्ति निर्माण गर्ने चेतावनी दिँदै आएको छ । यद्यपि तिमल्सिनाले विभाजनका लागि नभई पार्टीलाई सही बाटोमा ल्याउन भेला आयोजना गरिएको दाबी गरे । ‘अध्यक्षको एकलौटी, हैकमवादी, निरंकुश, अपारदर्शी, परिवारवादी र स्वेच्छाचार प्रवृत्तिको अन्त्यका लागि दबाब दिन लागेका हौं’, तिमल्सिनाले भने, ‘हामीले पार्टी फुटाउन नभई अध्यक्षले कार्यशैली सुधार्न दबाब दिने उद्देश्यले भेला बोलाएका हौं ।’