कतारबाट फर्केर गाउँमै आलु खेती

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते २:१५ मा प्रकाशित

potatoमकवानपुर, ५ मंसिर– वैदेशिक रोजगारीका लागि दैनिक हजारौँ युवा विदेश गइरहेको समयमा मकवानपुरका युवा आफ्नै माटोमा पसिना बगाएर आयआर्जनमा लागेका छन् ।

स्वदेशमा रोजगारीको प्रयाप्त अवसर नभएको भन्दै विदेश जानेको भीडमा मकवानपुरका २५ जना युवा मिलेर आलु खेती सुरु गरेका हुन् ।

वैदेशिक रोजगारमा जान पासपोर्ट बनाएर तम्तयार रहेका हेटौँडा नगरपालिका–२५ हर्नामाडीका युवा अन्तमा आफ्नै गाउँघरमा आलु खेती गर्न थालेका छन् । उनीहरुले पासपोर्ट बनाएर विदेश जाने तयारी गर्दैगर्दा कृषि पेसामा लाग्न एक समूह र सामुदायिक विकास केन्द्र नेपाल नामक संस्थाले ठूलो भूमिका खेलेको छ ।

दुई महिनाअघि मात्र स्थापना भएको उत्साहित युवा कृषक समूहले विदेश जान लागेका युवालई कृषिमा आत्मनिर्भर बनाउन विशेष कदम चालेको हो ।

खाडी मुलुक कतारमा गएर आएका सोही स्थानका अमृतबहादुर घिमिरेले दुई महिनाअघि मात्र युवालाई कृषिमा लगाउने योजनासहित आफ्नो नेतृत्वमा २५ सदस्यीय समूह गठन गरे ।

स्थापनाको दुई महिना बित्न नपाउँदै समूहले युवालाई व्यवसायिक कृषिमा लगाउन सफल पाइला चालेको छ ।

समूहमा रहेका २५ जनामध्ये घिमिरे र अर्का एक युवा विदेशमा पसिना बगाएर आएका हुन् भने बाँकी २३ जना हर्नामाडीकै युवा हुन् ।

विदेश जाने तयारीका लागि केही महिना अघिबाट पासपोर्ट बनाउन दौडधुप गर्दै थिए । तर, उनीहरुलाई कृषि पेसाले आकर्षण गरेको गर्‍यो । ‘विदेश जान छोडेर कृषि पेसामा लाग्न देउसी–भैलो खेलेर २५ हजार जुटायौँ ।

त्यसपछि सिजन अनुसारका आलु खेती गर्ने योजनासहित अघि बढ्यौँ’ समूहका अध्यक्ष घिमिरेले भने ।

प्रक्रिया अघि बढ्दै जाँदा जिल्लाका पाँच गाविसलाई कृषिमा व्यवसायीकरण गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सामुदायिक विकास केन्द्र नेपाल (सीसीडीएन) ले ७५ हजार नगद सहयोग गरेको थियो ।

समूहले त्यही रकमले आलुको बीऊ खरिद गरेको अध्यक्ष घिमिरेले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us