एसएलसी परीक्षा चैत ५ देखि

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १५:२३ मा प्रकाशित

भक्तपुर, ४ मंसिर– यो वर्षको प्रवेशिका  परीक्षा आगामी चैत ५ गतेदेखि सञ्चालन हुने भएको छ ।
शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बसेको समितिको बैठकले पहिलो पटक प्राविधिक शिक्षाको पनि प्रवेशिका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए ।
यस वर्ष प्राविधिक शिक्षाको प्रवेशिका परीक्षामा ९९ विद्यालयका करिब चार हजार ५०० विद्यार्थी परीक्षामा सामेल हुनेछन् । नियन्त्रक द्वारेका अनुसार प्राविधिक शिक्षातर्फको परीक्षा जिल्ला सदरमुकाममा सञ्चालन हुनेछ ।
यस वर्षदेखि   साधारण शिक्षा र प्राविधिक शिक्षा दुई भागमा विभाजन गरी छुट्टाछुट्टै रुपमा लिइने भएको छ  । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको तालिकाअनुसार साधारणतर्फको परीक्षा चैत १३ गते र  प्राविधिकतर्फको चैत १६ गते मात्र सम्पन्न हुनेछ । साधारण शिक्षातर्फ छ अनिवार्य विषय हुन्छ भने पा्रविधिकतर्फ चार मात्र हुनेछ ।

बैठकले अनिवार्य अङ्ग्रेजी र कम्प्युटरको प्रयोगात्मक परीक्षा सम्बन्धित विद्यालयमा नै सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि विद्यालय व्यवस्थापन समिति र विषय शिक्षकले प्रश्नपत्र तयार गर्ने छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us