मोदी भ्रमण रोकिँदा हाम्रो अनुहारमा कालो पोतियो: नारायणकाजी

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १४:३३ मा प्रकाशित

narayankaji shresthaकाठमाण्डु, ४ मंसिर– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्ना कार्यकर्ताको उदण्ड व्यवहारका कारण भारतीय प्रधानमन्त्रीले गर्ने भनिएको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको भन्दै दु:ख व्यक्त गरेका छन् ।
श्रेष्ठले उक्त प्रकरणबाट आफूहरुको अनुहारमा कालो पोतिएको टिप्पणी गरे । विवादित वीरगञ्जस्थित भारतीय काउन्सलर कार्यालयमा भ्रमण रोक्न माग गर्दै ज्ञापनपत्र दिनु ‘ब्लण्डर’ भएको उनको भनाइ थियो ।

‘हाम्रा साथीहरुले जे गरे त्यो ठीक गरेनन्’, काठमाण्डु टुडेसँग श्रेष्ठले भने, ‘अवैधानिक प्रकारको काउन्सलर अफिसमा गएर विज्ञप्ति बुझाउनै हुने थिएन ।’ उनले मोदीको अभिनन्दन स्थललाई लिएर विवाद नगर्न दिएको निर्देशनको पार्टीभित्रैबाट अवज्ञा भएको खुलासा समेत गरे ।

उनले सरकारले पनि के कारण देखाएर भ्रमण स्थगन गरेको हो त्यसको पुष्टि गर्नुपर्ने बताए । यद्यपि सार्क सम्मेलनमा आउन लागेका मोदीको नागरिक अभिनन्दन र सम्बोधन कार्यक्रम तय गर्नु नै गलत भएको उनको टिप्पणी छ ।

‘यो कुनै द्विपक्षीय भ्रमण थिएन’, श्रेष्ठले भने, ‘विशेष भ्रमणका बेला त्यो कार्यक्रम किन राखियो, यो नै बुझ्न नसक्ने कुरा भएको छ ।’

भ्रमण व्यवस्थापनको जिम्मेवारी लिएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले एमाओवादी र मधेसवादी दलको कुटनीतिक मर्यादाविपरीतको व्यवकारका कारण भ्रमण रद्द गर्नुपरेको आरोप लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us