
काठमाण्डु, ४ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले काठमाण्डुमा आगामी १० र ११ मंसिरमा हुने दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ को १८ औं शिखर सम्मेलन मुलुकको प्रतिष्ठासँग गाँसिएको बताएका छन् ।
सार्क तयारीबारे जानकारी गराउन बालुवाटार पुगेका सरकारका मन्त्रीहरुसँग कुरा गर्दै उनले तयारीमा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।
‘भौतिक तयारीका काम अझै सम्पन्न हुन बाँकी देखिन्छ’, कोइरालाले भने, ‘कोइरालाले भने, ‘जनशक्ति कम भएको हो भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि सहयोग लिनुस् तर सार्क कुनै कमी कमजोरी हुन नपाओस् ।’
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सडकको मर्मत संभार, आमन्त्रित अति विशिष्ट पाहुनाहरुको सत्कार र आवासको व्यवस्था, शहरको सफाई र सौन्दर्यकरण, शिखर सम्मेलन स्थल राष्ट्रिय सभागृहको भौतिक पूर्वाधार निर्माण, सजावट, प्रकाश र ध्वनिको व्यवस्था, आसन व्यवस्था, सार्कको सम्मेलनका सही सूचना प्रवाह व्यस्था सहित सुरक्षा व्यवस्थामा चासो व्यक्त गरेका थिए ।
सार्क तयारीबारे कोइरालालाई जानकारी गराउन उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल,भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, उर्जामन्त्री राधा ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य, उद्योगमन्त्री महेश बस्नेत बालुवाटार पुगेका थिए ।
सार्क सम्मेलनको सुरक्षा व्यवस्थाका सम्बन्धमा प्रधानसेनापति गौरवसमशेर राणाले जानकारी गराएका थिए ।