नक्कली एटीएम प्रयोग गरी नेपालीको खाताबाट रकम झिक्ने टर्केली पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १३:२२ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– नेपालका विभिन्न बैंकको एटीएम मेसिनबाट नक्कली एटीएम प्रयोग गरी रकम निकाल्ने टर्कीका नागरिक पक्राउ परेका छन् ।

टर्कीका नागरिक २४ वर्षीय मेहमत गुलेनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डुको ठमेलबाट पक्राउ गरेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय एटीएम कार्डहरू प्रयोग गरी अनधिकृतरूपमा एपेक्स विकास बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम प्रयोग गरी नेपाली रुपैयाँमा पैसा निकालेका थिए ।

विभिन्न व्यक्तिको खाताबाट पैसा निकाल्ने कार्यमा संलग्न उनी दरबारमार्गस्थित होटल उड्ल्याण्डबाट पक्राउ परेको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिए ।

उनको साथबाट नेपाली रुपैयाँ २६ लाख, अमेरिकी डलर पाँच हजार, एटीएम कार्ड ४२ थान, सीमकार्ड, ल्यापटपलगायत सामान प्रहरीले बरामद गरेको छ ।

गुलेनले हालसम्म विभिन्न बैंकका एटीएम कार्ड प्रयोग गरी नेपाली  पाँच हजार, १० हजार  र १५ हजारका दरले पैसा निकाल्ने गरेको तथा विभिन्न व्यक्तिको एटीएम, डाटा र पिन नम्बरसमेत चोरी गरी कम्प्युटर सफ्टवेयर प्रयोग गरी मास्टरकार्ड, भिसा कार्ड र डेविट कार्ड तयार गरी रकम निकाल्ने गरेका थिए ।

उनले नेपालसहित भारत, थाइल्याण्डलगायत देशमा गई रकम निकाली ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

कार्ड तथा डाटा र पिन दुवै नम्बर चोरी गरी नयाा कार्ड तयार पारेको देखिएकाले यसमा सङ्गठित गिरोह संलग्न भएको आशंका प्रहरीले गरेको छ ।

नेपालबाट पचास लाखभन्दा बढी रकम निकालिसकेपछि  आफू भाग्ने तयारीमा रहेको प्रारम्भिक बयान उनले दिएका छन् । उनी साउनमा दुई पटक थाइल्याण्ड र कतार गएको, असोजमा भारत गएकोमा कात्तिक २७ गते नेपाल आई होटल याक एण्ड यतिमा बस्दै आएकामा कात्तिक २९ गतेबाट उड्ल्याण्ड होटलमा बस्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us