मोदी भ्रमण रद्द भएको विरोधमा जनकपुरमा प्रदर्शन

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १३:१० मा प्रकाशित

Modi_20140804032219जनकपुर, ४ कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको भ्रमण रद्द भएको विरोधमा जनकपुरमा विरोध प्रदर्शन भएको छ ।

एकीकृत माओवादीसहित मधेस केन्द्रित दल, नागरिक अगुवा र व्यवसायीले मोदी भ्रमण रद्द हुनुमा सरकार दोषी रहेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको पुत्ला जलाएका छन् । उनीहरुले निधिकै कारण मोदी भ्रमण रद्द भएको आरोप लगाएका छन् । आफ्नो जनकपुर भ्रमण विवादमा परेपछि मोदीले आफूले काठमाण्डुबाहिर कुनै पनि स्थानको भ्रमण नगर्ने सन्देश पठाएका थिए ।

लगत्तै मन्त्री निधिले बिहीबार विज्ञप्ति जारी गरी मोदी भ्रमण रद्द भएको जानकारी गराएका थिए । विज्ञप्तिमा उनले एकीकृत माओवादीसहित मधेसवादी दलहरुको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण भ्रमण रद्द भएको आरोप लगाएका थिए ।

आगामी मंसिर १० र ११ गते काठमाण्डुमा हुने १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउँदा मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने तय भएको थियो ।

तर दलहरुबीच मोदीको अभिनन्दन र सम्बोधन गर्ने स्थानको विषयलाई लिएर विरोध भएको थियो । विपक्षी एमाओवादीसहित मधेस केन्द्रित दल, नागरिक अगुवा र व्यवसायीले बाह्रबिघामा कार्यक्रम हुनुपर्ने भन्दै विरोध गरेका थिए । सरकारले भने जनकपुर मन्दिर परिसरमै कार्यक्रमको तयारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us