
काठमाण्डु, ४ मंसिर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमिहीन किसानलाई जमिन उपलब्ध गराउन आफ्नो पार्टी हदैसम्मको प्रयत्नशील रहेको बताउनुभएको छ ।
पशुपति वनकालीमा लामो समयदेखि अनशनरत भूमिहीन किसानलाई बिहीबार भेटेर उनले आफ्नो पार्टीले क्रान्तिकारी भूमिसुधारको नारा नछाडेको र नयाँ संविधानमा सो विषयलाई समावेश गर्न हदैसम्मको प्रयत्न गरिने प्रतिबद्धता जनाए ।
सीमित व्यक्तिको हातमा जमिन रहँदा अधिकांश भूमिहीनले जग्गा पाउन नसकेको र अपनत्व महसुस गर्न नसकेको उल्लेख गर्दै उनले अन्तरिम संविधानले व्यवस्था गरेकै प्रावधानलाई मात्रै लागू गर्ने हो भने समस्या समाधान हुने बताए ।
सो अवसरमा अनशनरत भूमिहीन किसानले आफ्नो समस्या समाधानको पहल गरिदिन अध्यक्ष दाहालसँग माग गरेका थिए । भूमिअधिकार सरोकार मञ्चका प्रमुख जगत देउजाले लामो समयदेखि किसान अनसनमा बसे पनि सरकारी निकायले ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरे ।