वैद्य र विप्लवले गरे राजधानीमै समानान्तर ‘सभा’

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– नेकपा–माओवादीका दुई धारले बिहीबार राजधानीमा समानान्तर सभा गरेका छन् । अध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षले वसन्तपुरमा सभा गरिरहेका बेला सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षले कार्की पार्टी प्यालेसमा आफ्नै समूहका प्रशिक्षण सभा गरेको छ ।
mohan baidhya-netra bikram chand
संविधान सभाको दोस्रो निर्वाचन भएको दिन पारेर संस्थापन पक्षले वसन्तपुरमा आमसभा गरेको थियो । सभामा महासचिव रामबहादुर थापा ‘बादल’ र सचिव देव गुरुङले बोलेका थिए ।

यता सचिव चन्दले भने आफू पक्षधर नेवा राज्यका कार्यकर्तालाई वैचारिक प्रशिक्षण दिएका थिए ।

विप्लव पक्षीय केन्द्रीय सदस्य झकबहादुर मल्लका अनुसार संस्थापन पक्षले वसन्तपुरको सभामा विद्रोही पक्षलाई बोलाएकै थिएन । ‘उहाँहरुले आफ्नै ढंगले आयोजना गर्नुभयो, आफ्नै ढंगले सभा गर्नुभयो, हामीलाई बोलाउनु नै भएन । नबोलाएको कार्यक्रममा जाने कुरा पनि भएन,’ मल्लले काठमाण्डु टुडेलाई भने ।

संस्थापनले आफूहरुलाई बेवास्ता गरेकै कारण बेग्लै कार्यक्रम गर्नु परेको पनि मल्लले बताए ।

विप्लव पक्षीय प्रशिक्षण कार्यक्रममा पार्टीभित्रको विवाद र संघर्षका प्रकृतिबारे छलफल भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us