
रौतहट, ४ मंसिर – रौतहट जिल्लाको कनकपुर गाविसमा लागेको मेलामा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर पड्केर दुई जनाको ज्यान गएको छ ।
बाला चतुदर्शीको अवसरमा कनकपुर गाविसस्थित पशुपति स्थानमा लागेको मेलामा खाना पकाउने क्रममा राति ९ बजे ग्यास सिलिन्डर विष्फोट भएर दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृत्यु हुनेहरुमा चन्द्रपुर नगरपालिका–१ बस्ने २५ वर्षीय कृष्ण गुप्ता कन्हैया र अमितकुमार साह छन् ।
सानो सिलिन्डर विष्फोट भई चन्द्रपुर नगरपालिका–५ बस्ने मनोज साह र कनकपुर गाविस–२ बस्ने सलिम मियाँ घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।
खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट ग्यास चुहिएर सिलिन्डरमा आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
खाना पकाउने स्थानबाट करिब १० मिटर पर रहेका ती दुईजनाको ग्यास सिलिन्डरको टुक्रा टाउकोमा लाग्दा मृत्यु भएको बताइएको छ । मृतक दुवैजनाको शव चन्द्रनिगाहपुर अस्पतालमा परीक्षण गराइएपछि आफन्तलाई बुझाइएको थियो ।
रासस