कमल थापाले सभामुखलाई भने– ‘ध्रुवीकरण रोक्नुस् !’

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते ८:५३ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटी दलहरुबीचको ध्रुवीकरण रोक्न आग्रह गरेका छन् ।
Baburam and Kamal Thapa 071.08.04
बिहीबार अध्यक्ष नेम्वाङलाई भेटी थापाले संविधान सभाको पूर्ण बैठक डाकेर राजनीतिक गतिरोध अन्त्य गर्न समेत अनुरोध गरे ।

‘मैले सभा अध्यक्षलाई पार्टीहरुबीचको ध्रुवीकरण रोक्न तपाईंले पनि दबाब दिनुपर्यो भनेर आग्रह गरेको छु,’ थापाले पत्रकारहरुसँग भने, ‘अहिले सत्तारुढ कांग्रेस र एमाले एकातिर र माओवादी र मधेसवादी अर्कोतिर उभिएका छन् । यसको अन्त्य गर्न सभा अध्यक्षले नै पहल गर्नुपर्छ ।’

नेम्वाङले भने राजनीतिक गतिरोधको अन्त्य गर्नका लागि संवैधानिक तथा राजनीतिक संवाद समितिबाटै पहल हुनुपर्ने धारणा राखेको थापाले बताए ।

बिहीबारै थापाले संवाद समितिका सभापति डा. बाबुराम भट्टराईलाई भेटी संवाद समितिमा आएका सबै पक्षका प्रस्तावहरु संविधान सभामा लगेर बैचको बाटो खोज्नुपर्ने सुझाव दिएका छन् ।

भट्टराईलाई भेटेपछि थापाले संविधान निर्माणमा भट्टराई गम्भीर र चिन्तित भएको प्रतिक्रिया दिएका छन् ।

बुधबार बसेको राप्रपाको संसदीय दलको बैठकले सभा अध्यक्ष र संवैधानिक संवाद समितिका सभापतिलाई भेट्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us