मोरङ, ४ मंसिर– वन्यजन्तु चोरी सिकारीमा संलग्न तीन जनालाई मोरङ प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

मोरङका विभिन्न सामुदायिक वनमा वन्यजन्तु चोरी सिकारी गर्ने मोरङ शनिश्चरे–८ का २७ वर्षीय सुरज कार्की र सोही ठाउँका २८ वर्षीय भुवन राई र भोगटेनी–१ का ४५ वर्षीय चन्द्रबहादुर राई पक्राउ परेका हुन् ।
सुरज र भुवनलाई इलाका प्रहरी कार्यालय पथरीले सिकार खेल्दै गरेको अवस्थामा मंसिर ३ गते दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।
यसैगरी मंसिर १ गते मोरङ भोगटेनी–१ का पत्थरसिंह भनिने ४५ वर्षीय चन्द्रबहादुर राईलाई उनकै घरबाट एक थान भरुवा बन्दुक र खरखजानासहित इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको थियो ।
सबै आरोपीलाई खरखजाना ऐन, अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसअघि उत्तरी मोरङमा घना जङ्गल भएकाले वन्यजन्तु बँदेल, हरिण र खरायो, कालिजलगायत प्रशस्त पाइन्छन् । प्रहरीको उपस्थिति पातलो भएकाले चोरी सिकारी गर्नेले भरुवा बन्दुक बनाएर सिकारमा प्रयोग गर्ने गरेका छन् ।
यसैगरी, पूर्व क्षेत्रमा सङ्गठित रुपमा चोरी गर्ने एक कुख्यात चोरको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
रासस