
काठमाण्डु, ४ मंसिर– मुलुकको पर्यटन क्षेत्र प्रवर्द्धन गर्न अघिल्लो साता बेलायत पुगेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य गढीमाई मेलामा हुने गरेको पशुपबलिका विषयमा एकाएक सहभागीहरुले प्रश्न उठाएपछि स्तब्ध बने ।
‘वल्र्ड ट्राभल्स मार्ट २०१४’ मा सहभागी हुन गएका मन्त्री अमात्यलाई सहभागीहरुले पशुबलिका विषयमा प्रश्नमात्रै गरेनन्, उनलाई ७२ हजार बेलायती नागरिकले हस्ताक्षरसहित ज्ञापनपत्रसमेत बुझाए ।
बेलायत भ्रमण खल्लो भएपछि अमात्यले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयसहित मन्त्रिपरिषद्मा पनि यसबारे जानकारी गराए ।
मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठका अनुसार गढीमाई मेलाकै कारण बेलायतीहरुलाई नेपाल भ्रमण नगर्न अघोषित प्रतिबन्ध लगाइएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पर्नेछ।
सन् २०१२ मा ४२ हजार र सन् २०१३ मा ३५ हजार ६ सय बेलायती पर्यटक नेपाल भित्रिएका थिए ।
बेलायतलगायत युरोपभर अहिले गढीमाई मेलामा हुने बलिविरुद्ध अधिकारकर्मीले अभियान सुरु गरेपछि नेपालमा युरोपेली पर्यटक आगमनमा गम्भीर असर पर्ने भन्दै व्यवसायीले चिन्ता प्रकट गरेका छन् ।
युरोपेली पर्यटक बढी खर्चालु हुने भएकाले उनीहरु नै आउन छाडे नेपालको पर्यटन क्षेत्र धराशायी हुनेमा व्यवसायीको चिन्ता छ ।
कारोबार दैनिकबाट