
रुकुम, ४ मंसिर– लामो रुटमा चल्ने यातायातका साधनमा अब अनिवार्य रुपमा दुई चालकको व्यवस्था गरिने भएको छ । सर्वसाधारणको व्यापक गुनासोपछि जिल्ला प्रशासन कार्यालयले रुकुमदेखि काठमाडौँसम्मको रुटलाई दुई खण्डमा विभाजन गरी दुई चालकलाई अनिवार्य व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको हो ।
जिल्लास्थित यातायात व्यवसायीसमेतको सहभागितामा बसेको सर्वपक्षीय बैठकले रुकुम सल्लेदेखि दाङको लमहीसम्म एउटा खण्ड र लमहीदेखि काठमाडौँसम्मका लागि अर्को चालकको व्यवस्था गर्ने निर्णय गरेको हो । रुकुम खलङ्गास्थित सिस्ने हिमाल यातायात व्यवसायी समितिको कार्यालयबाट विशेष टोकन जारी गरी दुई चालकलाई अनिवार्य गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।
लामो रुटमा एउटै चालक मात्रै हुँदा दुर्घटना बढेको गुनासो आएपछि त्यसलाई कडाइ गर्न बैठकमा सहभागी व्यवसायी पनि सहमत भएका छन् । यसका साथै यात्रुबाहक गाडीमा यात्रुका झिटिगुन्टाबाहेक अरु बोक्न नपाइने, सिट क्षमताभन्दा एक जना पनि बढी यात्रु बोक्न नपाइने बोकेको खण्डमा जतिबेला पनि यात्रुलाई ओराल्ने निर्णय पनि गरिएको छ । रासस