धादिङ, ४ मंसिर– राष्ट्रिय बाणिज्य बैंक उपशाखा गजुरीले ‘दलित’ भन्दै एक युवतीको आवेदन लिन अस्वीकार गरेको छ ।
उपशाखाले मागेको कार्यालय सहयोगी पदमा आवेदन दिन गएकी
गजुरी–१ आदमाराकी सन्तोषी विकको आवेदन दर्ता गर्न बैंकले अस्वीकार गरेको हो । बैंकका उपशाखा म्यानेजर शंकर पौडेलले ‘दलित’ भन्दै आवेदन अस्वीकार गरेको आरोप पीडितले लगाएकी छन् ।
‘आवेदन खुलेर थापा पाएर गएकी थिएँ, विकले भनिन्, ‘आफू त बाहुनको छोरो, दलितले पकाएको चिया खान गाह्रैपर्छ भन्दै निवेदन फिर्ता गरे ।’
आवदेन अस्वीकार गरेका म्यानेजर पौडेलले जागिर दिन नसक्ने बरु आयमुलक कामका लागि ऋण दिने आश्वासन दिएको आरोप सन्तोषीको छ ।
पैडेलले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।
आवेदन अस्वीकार गरेको नभई तलब कम हुने भएकाले काम नगर्न सुझाव दिएको दाबी उनको छ ।
यसैबीच पौडेलविरुद्ध दलित अधिकारीकमीको सहयोगमा विकले जिल्ला प्रहरी कार्यालय धादिङमा जातीय विभेद तथा छुवाछूत कसुर र सजाय ऐन–२०६८ अनुसार कारबाहीको माग गर्दै मुद्धा दायर गरेकी छन् ।