एल्जासले गर्‍यो गोरखाका छ विद्यालयलाई सहयोग

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १:४३ मा प्रकाशित

गोरखा, ४ मंसिर– फ्रान्सको एल्जास (सामाजिक गतिविधिमा साझेदारी) संस्थाले गोरखाका छ वटा सरकारी विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गरेको छ । गोरखा नगरपालिका– १ को महेन्द्रज्योति उमावि,  ३ को पृथ्वीनारायण बाल विकास प्रावि, ५ को नवज्योति मावि, नारेश्वर गाविसको बिन्दबासिनी उमावि, बालविकास प्रावि र  घलाङको राष्ट्रिय माविलाई सहयोग गरिएको हो ।

त्यसमध्ये महेन्द्रज्योति उमावि, पृथ्वीनारायण बालविकास र विन्दबासिनीलगायतका विद्यालयको भवन निर्माण र विद्यालयमा एक शिक्षकका लागि मासिक तलबसहितको सुविधा प्रदान गरेको एल्जासका नेपालस्थित निर्देशक सञ्जय सुन्दर सैंजुले जानकारी दिए ।

‘छ वटा विद्यालयमा पढ्ने आर्थिक स्थिति कमजोर भएका ४० विद्यार्थीलाई मासिक १ हजार ३ सय रुपैयाँका दरले छात्रवृत्ति पनि दिएका छौँ’ सैंजुले भने, ‘आर्थिक स्थिति कमजोर भएकै कारणले शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने अभियानमा संस्था लागिपरेको छ ।’ एल्जास संस्थाले विगत १० वर्षदेखि गोरखाका विद्यालयलाई सहयोग गर्दै आएको निर्देशक सैंजुको भनाइ छ ।

एल्जास नेपालकै आर्थिक सहयोगमा गोनपा– ३ को पृथ्वीनारायण बाल विकास प्राविको विद्यालय भवन निर्माणका लागि जमिन खरिदलगायतको काम भएको छ भने विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री पनि संस्थाले बर्सेनि उपलब्ध गराउँदै आएको छ ।

बुधबार विद्यालयमा पुगेर एल्जासको नेपालस्थित प्रमुख निकोलजङ नेतृत्वको फ्रान्सेली टोलीले १ सय २ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेका छन् ।

दलित बस्तीमा रहेको उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीको आर्थिक स्थिति निकै कमजोर छ । ‘बर्सेनि विद्यालय अवलोकनका लागि आउँदा एल्जासका टोलीले शैक्षिक र खेलकुदको सामग्री ल्याउनुहुन्छ’ विद्यालयका प्रधानाध्यापक सुदीप उपरकोटीले भने, ‘संस्थाकै सहयोगमा १० वर्षदेखि विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us