कालिकोटमा नि:शुल्क र अनिवार्य शिक्षा

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १:२३ मा प्रकाशित

कालिकोट, ४ मंसिर– कालिकोटका दुई गाउँ विकास समिति नि:शुल्क र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएका गाविस घोषणा गरिएका छन् । गत वर्ष कालिका गाविस र यो वर्ष मान्म गाविस नि:शुल्क र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएका गाविस घोषणा भएका हुन् ।

गाविसका सबै बालबालिका विद्यालय भर्ना भएर नियमित पठनपाठन गर्न थालेपछि दुई गाविसलाई कर्णालीकै पहिलो र दोस्रो नि:शुल्क र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गाविस घोषणा गरेको जिशिअ घनश्याम पौडेलले बताए । मान्म गाविसका ५ देखि १२ वर्ष उमेर समूहका कक्षा १ देखि ८ सम्मका बालबालिकाले विद्यालयमा कुनै शुल्क तिर्नुपर्ने छैन भने अभिभावकले अनिवार्य रुपमा आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुपर्ने छ ।

नि:शुल्क र अनिवार्य शिक्षाका लागि विद्यार्थी र अभिभावकबाट कुनै शुल्क नलिने, गाविसका सबै विद्यालयमा दण्डरहित बालमैत्री शिक्षण लागू गर्ने, विद्यालयले शैक्षिक तथ्यांक अध्यावधिक गर्ने, भर्ना भएका सबै बालबालिकाले कक्षा १ देखि ८ सम्मको तह पूरा गर्ने, विद्यार्थीको सिकाइ न्यूनतम ५० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ ।

सरकारले बालबालिकालाई पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्ति उपलब्ध गराउँदै आए पनि छोराछोरी नियमित विद्यालय नपठाउने अभिभावकलाई दण्ड सजाय गरेर अनिर्वाय विद्यालय पठाउने वातावरण सिर्जना गर्ने योजना बनाएको स्रोत व्यक्ति ठाकुरप्रसाद ज्ञवालीले बताए ।

कूल ६ हजार ३ सय ६२ जनसंख्या भएको मान्म गाविसमा २ हजार ८ सय ७१ बालबालिका नियमित विद्यालय भर्ना भएर पढिरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us