बाह्रविघामा मोदीको अभिनन्दन हुनुपर्ने माग गर्दै विरोध जुलुस

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते १४:२१ मा प्रकाशित

Modiजनकपुरधाम, ३ मंसिर– ऐतिहासिक बाह्रविघा मैदानमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन तथा सम्बोधनको कार्यक्रम राख्नु पर्ने माग गर्दै २२ दलीय मोर्चाले बुधबार यहाँ विरोध जुलुस प्रदर्शन गरेको छ ।

‘सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन बाह्रविघामा गर’ जस्ता नारा भएको प्ले कार्ड बोकी जानकी मन्दिरबाट निस्केको जुलुुस जनकपुर नगरको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

जुलुसले धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानालाई एक ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा सरकारलाई भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन बाह्रविघामा हुनुपर्ने, मधेसका दलित छात्रालाई साइकल वितरण गर्नुपर्नेलगायतका माग गरिएको छ ।

भारतीय प्रधानमन्त्रीको जानकी मन्दिरमा गर्ने भनिएको नागरिक अभिनन्दन योजना परिर्वतन गरी बाह्रविघामा गर्नुपर्ने माग सो मोर्चाले गरेको छ ।

मोर्चाको संयोजक तथा एमाओवादी धनुषाका कार्यवाहक अध्यक्ष भल्कु यादवको नेतृत्वमा गएको सो जुलुसमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक धनुषाका अध्यक्ष सञ्जयकुमार चौधरी, मजफो नेपालका धनुषा अध्यक्ष शेषनारायण यादव, तमलोपा नेपालका अध्यक्ष परमेश्वर शाहलगायतको सहभागिता थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us