काठमाण्डु, ३ मंसिर– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि अमेरिकी राजदूत तथा बेलायती राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले सरकारमा रहेका दलहरुले आफूखुसी विगतको सहमति तथा सम्झौतालाई लत्याएर बहुमतको बलमा संविधान जारी गर्ने प्रयत्न गरेका कारण समस्या पैदा भएको बताएका थिए ।
बेलायती राजदूत एन्डु« जेम्स स्पार्कस् र पिटर इब्ल्यु बोडेसँग भएको भेटमा प्रचण्डले प्रमुख दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएका सहमति तथा सम्झौता नै संविधान निर्माणको प्रमुख आधार भएपनि नेपाली काँग्रेस र नेकपा (एमाले)को पछिल्लो व्यवहार संविधान नबनाउनेतिर केन्द्रित रहेको उल्लेख गरेका थिए ।
सबैले अपनत्व गर्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउन आफ्नो पार्टी प्रयत्नशील रहेको र त्यसका लागि आवश्यक लचकतासमेत प्रदर्शन गर्न तयार रहेको प्रचण्डले बताए ।
ऋघिल्लो साता सत्तारुढ दल कांग्रेस एमालेले पनि विदेशी राजदुतहरुलाई भेटेर आफूहरुको संघीयतासम्बन्धी साझा प्रस्तावबारे ‘ब्रिफिङ’ गरेका थिए ।