विदेश जाँदा लागेको ऋण तिर्न नसकेर बिचल्ली

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ९:४९ मा प्रकाशित

म्याग्दी, ३ मंसिर– म्याग्दीका एक व्यक्तिको विदेश जाँदा लागेको ऋण तिर्न नसक्दा मानसिकरुपमा विक्षिप्त भएर निधन भएपछि परिवार बिचल्लीमा परेका छन् ।

पैसा कमाएर सुखी र खुसी जीवन कटाउने सपना बोकेर विदेसिएका भगवती–३ का ३६ वर्षीय रिमबहादुर परियारको मानसिक रोगका कारण निधन भएपछि परिवारमा पीडामाथि पीडा थपिएको हो ।

दश वर्षअघि साउदी अरब जाँदा साहुसँग लिएको तिर्न बाँकी ऋण र घर व्यवहार चलाउन समस्या भएपछि तनावका कारण मानसिक पीडामा तड्पिएका परियारको कात्तिक २५ गते घरमै मृत्यु भएको थियो ।

कम्पनीले भनेजस्तो तलब सुविधा दिन नसकेपछि परियार दुई वर्ष साउदीमा बसेर घर फर्केका थिए ।

अकालमै श्रीमान् गुमाउँदाको बेदनामा पिरोलिएकी रिमबहादुरकी श्रीमती सुनमायालाई छोराछोरीको लालनपालन, पठनपाठन र घर व्यवहार चलाउने तथा साहुको ऋण तिर्ने चिन्ताले पीडा थपेको छ ।

सुनमायाका अनुसार विदेश जाँदा लागेको रु ६० हजार ऋण र ब्याज तिर्न बाँकी छ ।

रिमबहादुरका बुबा भल्लु दर्जीका पाँच भाइको परिवार एकै घरका कोठा–कोठामा बस्दै आएका छन् । स्थानीय अगुवा देवेन्द्रबहादुर मल्लका अनुसार गुठीको जग्गामा घर बनाएर बसेका उनीहरुको जग्गा जमिन र पैतृक सम्पत्ति छैन् । वैदेशिक रोजगारीको असफलता र बेरोजगारीको मारमा परेका रिमबहादुरमा मानसिक समस्याले गर्दा विक्षिप्त थिए ।

जतिबेला पनि ऋणकै कुरा गरिरहने, टोलाउने, झोक्राउनेजस्ता मानसिक समस्या देखिएका रिमबहादुरको गरिबीका कारण उपचार र परामर्शको अभावमा निधन हुन पुगेको छिमेकीले बताएका छन् ।

साँघुरो घरमा धेरै परिवार बस्ने भएकाले छिमेकको आफन्तको घरमा किरिया बसेका भल्लुले किरिया खर्च पनि ऋण, धन गरेर जुटाउने तयारी गरेको बताए ।

रिमबहादुरका दुई छोरी र दुई छोरा छन् । १७ वर्षीया सविना र १३ वर्षीया सलिना स्थानीय मुक्तिधाम उच्च माविको कक्षा ८ र ६ मा पढ्छन् । नौ वर्षीय सन्देश र छ वर्षीय सुविन नजिकै रहेको सिद्धार्थ ज्ञानमन्दिर प्राविको २ र १ कक्षामा अध्ययनरत छन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us