गौशाला, ३ मंसिर– महोत्तरीको सीतापुर भङ्गहा गाविस–३ स्थित दलित बस्तीमा १० वर्षपछि बिजुली पुगेको छ ।
अढाइ सय घरधुरी दलितको बसोबास रहेको सीतापुर बन्द्रा टोलमा एक दशकपछि बिजुली पुगेको स्थानीय सञ्चारकर्मी गोपाल बरालले बताए ।
११ वर्ष पहिले पोल र तार झुन्डिएको सो बस्तीमा जिविस, गाविस र विद्युत् प्राधिकरणको लापर्वाहीका कारण बिजुली पुगेका थिएन भने सरोकारवाला सबैले ध्यान दिएपछि बस्ती अब झिलीमिली बनेको स्थानीय दानवीर सिंह थारूले बताए ।
थारू, दनुवार, बाँतर, मुसहर र चमारको बसोबास रहेका सो टोलमा गाविसको रु तीन लाख आर्थिक सहयोगमा ५० केभीको ट्रान्सफर्मर जडान गरिएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर सिंह थारूले बताए ।
वर्षांैदेखि अँध्यारोमा बस्न बाध्य सो दलित बस्तीका बासिन्दा बिजुली बाल्न पाउँदा निक्कै खुसी देखिएका छन् । रासस