इलाम, ३ मंसिर– यातायात व्यवसायीले छतमा यात्रु चढाउन पाउनुपर्ने लगायतका माग राखेर एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
एमाले जिल्ला अधिवेशन उदघाटनका लागि इलाम पुगेका ओलीलाई भेटेर मेची अञ्चलका यातायात व्यवसायी महासंघका प्रतिनिधिले बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा सरकारले २० वर्ष पुगेका पुराना गाडी सञ्चालनमा प्रतिबन्ध लगाउने, हुट हटाउने, गाडीका पुर्जा बिना स्वीकृति परिवर्तन गर्न नपाउनेजस्ता नीति लागू गरेकामा विरोध जनाइएको छ ।
सरकारले सवारी दुर्घटनामा यात्रुको मृत्यु हुने क्रम बढेपछि छत हटाउने लगायत अभियान चलाएको छ । सरकारी नीतिको विरोधमा मेची अञ्चलका यातायात व्यवसायीले बुधबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
बन्दका कारण इलामदेखि झापा, पााचथर र ताप्लेजुङतर्फ जाने लामो दूरीका र जिल्लाकै ग्रामीण सडकतर्फ गुड्ने सवारीसाधन ठप्प हुादा यात्रु मारमा परेका छन् ।
जिप, टयाक्सी, टयाक्टर, ट्रक तथा पिकअप यातायात व्यवसायी सङ्घद्वारा सञ्चालनमा ल्याएका पुराना गाडी विस्थापन गर्न नहुने अडान राख्दै आए पनि आफ्ना मागप्रति कुनै सुनुवाइ नभएकाले यातायात बन्द गर्नु परेको पूर्वेली जिप तथा टयाक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बाले बताए ।
कात्तिक अन्तिम साता इलामको बिब्ल्यााटेमा मेची अञ्चलका डेढ दर्जन यातायातसाग सम्बन्धित सङ्घसङ्गठनले विज्ञप्ति जारी गर्दै सरकारले हालै ल्याएको उक्त नीति परिवर्तन गर्नुपर्ने माग अघि सार्दै आएका छन् ।