१० हजार द्वन्द्वपीडित बालबालिका परिवारसहित विस्थापित

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ४:०५ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– एक अध्ययनअनुसार १९ हजार ९८० द्वन्द्वपीडित बालबालिकामध्ये करिब ५० प्रतिशत बालबालिका परिवारसहित विस्थापित बनेका छन् ।

मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह नेपाल र सामुदायिक विकास कार्यक्रम नेपाललगायतका सङ्घसंस्थाले गरेको अध्ययनअनुसार परिवारसहित विस्थापित बनेका ५० प्रतिशतमध्ये २० प्रतिशतले बाबु वा आमा गुमाएको पाइएको छ । ,

 त्यसैगरी एक हजार ६५७ ले अभिभावक गुमाएको, ६७१ अपाङ्ग भएको, १४९ जना बेपत्ता भएको, ९६ बालबालिकाका आमाबाबु अपाङ्ग भएको र १४ प्रतिशत द्वन्द्वपीडित बालबालिकाको अवस्था अझै खुल्न नसकेको तथ्याङ्क छ ।

ती सङ्घसंस्थाले मङ्गलबार पत्रकारसम्मेलनको आयोजना गरी द्वन्द्व प्रभावित बालबालिकासम्बन्धी कार्ययोजना र बालअधिकार महासन्धिलगायत पटकपटक भएका सहमति कार्यान्वयन गर्नुपर्नेसमेत माग गरेका छन् ।

मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारीले द्वन्द्व प्रभावित बालबालिकाको सवालमा सरोकार राख्ने बालबालिका मन्त्रालय लगायतका निकायले द्वन्द्व प्रभावित बालबालिकाको स्पष्ट तथ्याङ्क ल्याउनुपर्नेमा जोड दिए ।

सुन्दर नेपाल संस्थाका अध्यक्ष बुद्धिप्रसाद सापकोटाले द्वन्द्वपीडित बालबालिकालाई शिक्षामा निःशुल्क गरिनुपर्ने र सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई बाल मैत्री बनाउनुपर्ने माग गरे । विभिन्न सङ्घसंस्थाले द्वन्द्वपीडित बालबालिकाको सवालमा विभिन्न माग राखी शान्ति तथा पुनः निर्माण मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतका सरोकार राख्ने निकायलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

द्वन्द्वपीडित बालबालिका निमादिकी शेर्पा, दीपा लिम्बू, दुर्गा खड्का र पुनम भण्डारी लगायतले आफ्ना समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्  । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us