काठमाण्डु, ३ मंसिर– संविधान निर्माण प्रक्रिया अनिश्चित भएका बेला काँग्रेस उपसभापति रामचन्द्र पौडेल अमेरिका गएका छन् ।
काँग्रेस भातृ संस्था जनसम्पर्क समितिको अधिवेशन उद्घाटनका लागि पौडेले गएराति न्युयोर्क प्रस्थान गरेका हुन् । पौडेल करिब दुई साता अमेरिका बस्नेछन् । जनसम्पर्क समितिको अधिवेशन आगामी ६ र ७ मंसिरमा न्युयोर्कमा हुँदैछ ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा जाँदा पौडेलले संविधान निर्माण प्रक्रियाबाट भाग्न खोजेको आरोप लगाएका थिए ।
काँग्रेस–एमालेले आफूले अघि सारेको सात प्रदेशको प्रस्ताव संविधानसभामा लैजानुपर्ने भन्दै संवैधानिक समिति सभापति बाबुराम भट्टराईलाई दबाब दिएसँगै दलहरुबीच सम्बन्ध चिसिएका बेला पौडेल अमेरिका गएसँगै संविधानका विवाद समाधानका लागि हुने दलीय छलफलसमेत प्रभावित हुने भएको छ ।
प्रमुख दलको बैठकमा काँग्रेसका तर्फबाट पौडेलले नै अगुवाई गर्ने गरेका छन् । सात प्रदेशको प्रस्ताव छलफलका लागि संविधानसभामा लैजान दबाब दिँदै काँग्रेस–एमालेका ४३ सभासदले गरेको हस्ताक्षर राजनीतिक समिति सभापति बाबुराम भट्टराईलाई पौडेलले नै बुझाएका थिए ।