बागलुङ, ३ मंसिर–विनाइजाजत हातहतियार राख्ने व्यक्तिलाई प्रहरीले कारबाही थालेको छ । त्यस्ता हतियार बुझाउन पटक–पटक आग्रह गर्दा पनि हतियार नबुझाएको पाएपछि प्रहरीले खोजतलास अभियान तीव्र बनाएको हो ।
अघिल्लो साता जिल्लाको भकुण्डे गाविस–६ का ५७ वर्षीय रणसिंह थापालाई अवैध १२ बोर बन्दुक, बारुद, छर्रा, मृग र वनबिरालोको छालासहित प्रहरीले पक्राउ गरेको छ । बन्दुक र वन्यजन्तुको छाला घरमै लुकाएर राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट गएको टोलीले थापालाई नियन्त्रणमा लिएको हो । थापामाथि हातहतियार तथा खरखजना ऐन २०१९ र वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
पटक–पटक अवैध रुपमा राखिएका हातहतियार बुझाउन आग्रह गर्दा पनि अटेर गर्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउन लागेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए । प्रहरीले गत साउन मसान्तभित्र हतियार बुझाउन सार्वजनिक रुपमै आग्रह गरेको थियो । ‘अवैध हतियार लुकाइ–छिपाई राख्नेहरुको खोजी र जााचपड्ताललाई तीव्र बनाइएको छ’, बस्नेतले भन्ने, ‘जो कोहीसँग पनि त्यस्ता हतियार फेला परेमा कानुनी कारबाहीको दायरामा ल्याउँछौँ ।’ उनका अनुसार जिल्लामा सयौँको संख्यामा त्यस्ता अवैध हातहतियार रहेको अनुमान छ ।
गत वर्ष ३ सयभन्दा बढीको संख्यामा त्यस्ता हतियार प्रहरीमा बुझाइएको थियो । कतिपय व्यक्तिले अनुमति लिएर राखेको हतियार पनि नवीकरण नगर्दा समस्या उत्पन्न भएको प्रहरीले बताएको छ । त्यस्ता हातहतियारमा पनि प्रहरीले कडाइ गर्ने भएको छ । बिनाइजाजत हातहतियार राख्ने व्यक्तिलाई हातहतियार तथा खरखजना ऐन २०१९ अन्तर्गत कारबाही चलाउने बस्नेतले बताए । ऐनले अवैध हातहतियार राख्ने व्यक्तिलाई १ लाख जरिवाना र ५ वर्षसम्मको कैद सजाय हुने व्यवस्था गरेको छ । रासस