चरीको पाँच करोडमा खुश्बुदेखि कस–कसको आँखा ?

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १३:२० मा प्रकाशित

chariकाठमाण्डु, २ मंसिर– प्रहरी इन्काउण्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ ले गुण्डा गर्दीको आडमा जम्मा गरेको धन कब्जा गर्न अहिले विभिन्न व्यक्तिहरुको होडबाजी चल्न थालेको छ ।

चरीसँग कति पैसा थियो र कहाँकहाँ राखेका थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा प्रहरीको उनको घरभन्दा केही माथि हरेको धादिङको आँबुखोला हाइड्रो पावरमा पाँच करोड बराबरको शेयर रहेको खुलेको छ ।

तर उक्त शेयर उनको नाममा नभई विश्वनाथ कँडेल नाम गरेका व्यक्तिको नाममा रहेको प्रहरी स्रोतले जनायो । शेयर पहिला चरीकै नाममा रहेको भए पनि सम्पत्ति शुद्धीकरणले अरु गुण्डा नाइकेलाई धमाधम तान्न थालेपछि उनले साहको नाममा शेयर सारेका थिए ।

कँडेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । चरीले शेयर सारेको थाहा पाएका हाइड्रो सञ्चालकहरुबीच उक्त शेयर के गर्ने भन्नेमा विवाद भएको छ । चरीको पैसामा एमाले नेता राजेन्द्र पाण्डेले पनि आँखा लगाएका छन् ।

पाण्डेकै पहलमा चरीले उक्त हाइड्रोमा लगानी गरेका थिए । श्रोतका अनुसार चरीकी प्रेमिका खुश्बु ओलीले समेत चरीको शेयर आफूले पाउनुपर्ने दाबी गरेकी छन् ।

दुवै परिवारको सहमतिमा आफ्नो चरीसँग बिहे गर्ने छिनाफानो भइसकेको भन्दै उनले चरी आफ्नो पारिवारिक सदस्य भएकाले सम्पत्तिमा आफ्नो हक लाग्ने दाबी गर्दै आएकी छन् । प्रहरीले सम्पत्ति छानबिन थालेपछि खुश्बु भागेर लण्डन पुगेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us