वैद्यले दमको औषधि देखाउँदै भने, ‘अब क्रान्ति गर्न सकिन्न कमरेड’

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १३:२३ मा प्रकाशित

mohanकाठमाण्डु, २ मंसिर– नेकपा–माओवादीका असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गत कात्तिक २६ र २७ गते कपिलवस्तुको शिवगढी जंगलमा छुट्टै भेला गर्‍यो ।

भेलाले मुलुकमा सशस्त्र संघर्ष आवश्यक रहेको ठहरसहित तयारीमा जुट्ने निर्णय गर्‍यो । भेलामा सचिव चन्द र नेता खड्गबहादुर विक एमाओवादीबाट क्रान्ति गर्ने भनेर अलग भए पनि सिन्को नभाँचेको भन्दै अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाविरुद्ध खनिए ।

विप्लवभन्दा पनि भेलामा विकले कडा कुरा गरेका थिए । भेलामा सहभागी एक कार्यकर्ताका अनुसार अध्यक्ष वैद्यले क्रान्तिको नेतृत्व गर्न नसक्ने भएकाले विप्लव अघि बढ्नुपर्ने बताए ।

आफूसँगको भेटमा अध्यक्ष वैद्यले औषधिको झोला देखाउँदै अब क्रान्तिको नेतृत्व गर्न नसक्ने बताएको विकले कार्यकर्तालाई सुनाए ।

‘पार्टी अकर्मण्यतामा फस्यो स्पष्ट कार्यदिशा बनाएर अघि बढ्नुपर्‍यो भन्न गएको थिएँ, विकले भने, ‘वैद्य कमरेडले औषधिको झोला देखाएर भन्नुभयो, अब क्रान्ति गर्न सकिन्न कमरेड ।’ दमका रोगी अध्यक्ष वैद्य नियमित औषधि सेवन गर्दै आएका छन् ।

विकले अर्का नेता हितमान शाक्यले पनि बिरामी भएकाले क्रान्तिमा जान नसक्ने भनेको दाबी गरे ।  विकले एमाओवादीसँग अलग हुनुअघि नै आफूले पार्टी नेतृत्वका लागि अघि सारे पनि तयार नभएको भन्दै विप्लवको समेत आलोचना गरे ।

कार्यकर्ताको चाहनाविपरीत वैद्य र बादलको हातमा नेतृत्व जाँदा क्रान्तिको भविष्य अन्यौलमा परेको उनको भनाइ थियो । विकले वैद्य र बादललाई प्रचण्डसँग मिल्न सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us