नवजात शिशुको मृत्युदरमा कमी आउन सकेन

काठमाण्डु टुडे २०७१ साउन २ गते ७:३१ मा प्रकाशित

काठमाण्डु , २ साउन – नवजात शिशुको मृत्युदर उच्च रहेको नेपाललाई कसरी त्यसमा कमी ल्याउने भन्ने सरकारलाई चिन्ताको विषय भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, सेभ दि चिल्ड्रेन, युएसआइडीलगायत नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेका विभिन्न दातृ निकायले गरिरहेको अथक प्रयासका बावजुद विगत पाँच वर्षदेखि नवजात शिशकोु मृत्युदरमा कुनै कमी आउन सकिरहेको छैन ।

सन् २००६ को स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणमा एक हजार जीवित शिशु जन्ममा ३३ नवजात शिशु मर्ने सार्वजनिक भएको थियो भने पछिल्लो सन् २०११ मा गरिएको अर्काे सर्वेक्षणमा पनि त्यो सङ्ख्या कायम नै रहेको देखिएको थियो । हरेक पाँचपाँच वर्षमा गरिने स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणको अर्काे सर्वेक्षणमा पनि यही आँकडा आउने हो की भन्ने चिन्ता र चासो स्वास्थ्य सरोकारवालाको रहेको छ ।

मन्त्रालयका अनुसार नेपालमा प्रतिवर्ष करिब छ लाख ६२ हजार शिशु जन्मन्छन् । यीमध्ये २२ हजार शिशुको जन्मेको २८ दिन नपुग्दै मृत्यु हुने गर्दछ । जन्मेदेखि २८ दिनसम्मको शिशुलाई नवजात शिशु भन्ने गरिन्छ ।

लामो सयमदेखि नवजात शिशुको स्वास्थ्यका बारेमा अध्ययन अनुसन्धान तथा पठनपाठन गर्दै आएका प्रा.डा. रमेशकान्त अधिकारी भन्छन् “पछिल्लो समयमा नेपालको स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन आए तर नवजात शिशुको स्वास्थ्यमा परिवर्तन आउन सकेन ।” किन त ? भन्ने जिज्ञासामा नवजात शिशुको स्याहारका बारेमा आवश्यक ज्ञानको कमी नै कारक रहेको उनले बताए ।

नवजात शिशुको मृत्युको मुख्य कारकमा सङ्क्रमण नै भएको एक अध्ययनले देखाएको थियो । स्वास्थ्य निकायमा नै स्वास्थ्यकर्मीबाट सुत्केरी गराउनुपर्ने, शिशुको नाभी सफा औजारले काट्नुपर्ने, सफा धागोले बाँध्नुपर्ने, नाभी काटेपछि नाभीमा मलम (क्लोराह्याजिडाइन) लगाउनुपर्ने, एक घण्टाभित्र शिशुलाई स्तनपान सुरु गर्नुपर्ने डा अधिकारीले सुझाव दिए ।

शिशुको नाभी काटेपछि गोबरमाटो, खरानी, सिन्दूर, तेलबेसार आदि लगाउन हुँदैन । नाभी काटेपछि मलम लगाउँदामात्र नवजात शिशुको मृत्युदरमा २३ प्रतिशत कमी आएको अध्ययनले देखाएको थियो ।

डा अधिकारी नाइटो पाकेमा, शिशुले छिटोछिटो श्वास फेरेमा, कडा कोख हानेमा, कम चलाइ भएमा, आमाको दूध राम्ररी चुस्न नसकेमा, शीताङ्ग भएमा तुरुन्त स्वास्थ्य निकायमा जानुपर्ने सुझाव दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बालस्वास्थ्य महाशाखाले नवजात शिशु मृत्युदरमा कमी ल्याउन जिल्ला अस्पतालमा नवजात सघन उपचार केन्द्र (न्युनेटल आइसियु) सेवा सञ्चालनमा ल्याउने तयारी गरिराखेको छ ।

महाशाखाका प्रमुख डा श्यामराज उप्रेतीले पहिलो चरणमा दश जिल्ला, सबै अञ्चल अस्पताल, ४० भन्दा बढी स्वास्थ्य चौकीमा यस्ता सेवा उपलब्ध हुने जानकारी दिए ।

न्युनेटल आइसियुमा जन्मदै बच्चा नरोए श्वासप्रश्वासमा सहयोग उपकरण, सङ्क्रमण रोक्ने औषधि तथा उपकरण र तातो राख्ने सामग्री उपलब्ध हुनेछन् । उनले भने , “हामी बालस्वास्थ्यका कार्यक्रम एकीकृत रुपमा सञ्चालन गरी नवजात शिशु मृत्युमा कमी ल्याउन प्राथमिता दिइरहेका छाँै ।”

स्वास्थ्यसम्बन्धी सहस्राब्दी विकास लक्ष्य चारमा नवजात शिशुको मृत्युदरमा कमी ल्याउने सम्बन्धी रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us