
काठमाण्डु, १३ असार– आगामी साता सुरु हुने एमालेको नवौँ महाधिवेशनका लागि सरकारी कर्मचारी पनि ठूलो संख्यामा प्रतिनिधि चुनिएका छन् ।
महाधिवेशन प्रतिनिधिमा ८४ जना निजामति कर्मचारी छन् भने सरकारी संस्थान, वित्तीय संस्था, शिक्षक र प्राध्यापक जोड्दा प्रतिनिधिको संख्या डेढ सयभन्दा बढी रहेको स्रोतलाई उधृत गर्दै आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
एमाले प्रतिनिधि चयनका लागि मंगलवार राष्ट्रिय सभा गृहमा सम्पन्न पेसागत महासंघको निर्वाचनमा २२ जना सरकारी कर्मचारी चुनिाएका हुन् । तीमध्ये कतिपय निजामती कर्मचारीको भूमिगत नाम राखिएको छ र सहकारी विभागमा कार्यरत नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष भोलानाथ पोखरेल रोहित सहित परराष्ट्र मन्त्रालयका राजन रेग्मी (इन्द्रकमल शर्मा), काठमाडौ कर कार्यालयका विष्णु लामिछाने (सागर शर्मा), कृषि अनुसन्धान परिषदका नवीन पौडेल, अर्थ मन्त्रालयका प्रेमवहादुर पराजुली, निजामती संगठनका महासचिव रहेका सामान्य प्रशासन अतिरित्त समूहका मोहनकुमार घिमिरे र कृषि मन्त्रालयकी कर्मचारी राधिका ढकाल एमाले प्रतिनिधि चुनिएका हुन् ।
पराजुली एमाले उपत्यका बुद्धिजीवी जिल्ला समितिका उपसचिव पनि हुन् । निजामती सेवासम्बन्धी कानुनले कर्मचारीलाई राजनीति गर्न प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको छैन ।