ढोरपाटन सिकार आरक्षमा एक करोड राजस्व

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ११:२२ मा प्रकाशित

बागलुङ, १९ जेठ – मुलुककै एकमात्र ढोरपाटन सिकार आरक्षमा वार्षिक करिब एक करोड राजस्व सङ्कलन हुने गरेको छ ।

सिकार, काठपुर्जी, पर्यटक शुल्क, दण्ड÷जरिवानालगायतबाट वार्षिक करिब रु एक करोड राजस्व सङ्कलन हुने आरक्ष कार्यालयले जनाएको छ ।

बर्सेनि दुई याममा हुने सिकारबापत विदेशी सिकारीले तिर्ने शुल्कले नै राजस्वको मुख्य हिस्सा ओगट्ने ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।

त्यस्तै बर्सेनि सातदेखि १० लाखसम्म काठ पुर्जीबाट प्राप्त रकम पनि राजस्वमै जाने अधिकृत श्रेष्ठले जानकारी दिए ।

हरेक आर्थिक वर्षको असोज÷कात्तिकमा सुरु हुने पहिलो याम र चैत÷वैशाखमा सुरु हुने दोस्रो याममा गरी आरक्षमा ३० देखि ४० को सङ्ख्यामा नाउर र झारलको सिकार हुने गरेको छ ।

सिकारबापत सिकारीले अधिकतम् रु तीन लाख २० हजारदेखि न्यूनतम् रु एक लाख ८० हजार राजस्व आरक्षलाई बुझाउने गरेका छन् ।

सिकारका लागि अमेरिका, फ्रान्स, नर्वे, रसियालगायत विभिन्न मुलुकबाट तालिमप्राप्त सिकारी आरक्षमा आउने गरेका छन् । “चालु आर्थिक वर्षको दुवै याममा गरेर करिब रु ७६ लाख राजस्व सङ्कलन भएको छ, पहिलो याममा रु ४४ लाखभन्दा बढी र दोस्रो याममा ३१ लाख १३ हजार राजस्व सङ्कलन भएको छ”, अधिकृत श्रेष्ठले भने ।

यो वर्षमा २२ झारल र १० नाउरको सिकार भएको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै आरक्ष क्षेत्रभित्रको जङ्गलबाट काठ झिक्न चाहने स्थानीय उपभोक्ताबाट समेत काठ पुर्जीबाट वर्षमा लाखौँ रुपैयाँ राजस्व उठ्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

कार्यालयले विशेषगरी सल्लो प्रजातिका काठ प्रयोगका लागि अनुमति दिने गरेको छ । हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीअनुसार आरक्ष क्षेत्रभित्र बसोवास गर्ने स्थानीयका लागि काठ प्रयोग गर्न पाइने व्यवस्था छ । “एक घनफिट काठ निकालेबापत रु १०० राजस्व आरक्षलाई तिर्नुपर्छ, त्यसबाहेक १३ प्रतिशत भ्याट थपिने गरेको छ”, अधिकृत श्रेष्ठले भन्नुभयो ।

आरक्षमा सिकारका लागि आउने र अन्य विदेशी पर्यटकले पनि प्रवेश शुल्क तिर्ने गरेका छन् । सार्क राष्ट्रबाहेकका मुलुकका पर्यटकले रु तीन हजार, सार्कभित्रका पर्यटकले रु एक हजार ५०० विदेशीले क्यापिङ शुल्कबापत रु एक हजार, सार्क राष्ट्रका पर्यटकले रु ५०० र नेपालीले रु ३०० आरक्षलाई बुझाउने गरेका छन् ।

त्यस्तै आरक्षभित्र हेलिकप्टर अवतरण गरेबापत रु पाँच हजार र भरिया प्रवेशको रु २५ राजस्व तिर्नुपर्ने व्यवस्था छ । आरक्ष क्षेत्रभित्र हुने अवैध क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहबाट असुलेको जरिवानाबापतको रकम पनि राजस्व सङ्कलन हुने गरेको छ ।

अव्यवस्थित चरिचरण, चोरी निकासीजस्ता घटनामा संलग्नलाई जरिवाना गर्ने गरिएको छ । सम्वेदनशील प्रकृतिका घटनालाई भने कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने गरिएको आरक्ष कार्यालयले जनाएको छ ।

आरक्षमा सङ्कलन भएको राजस्व सबै राज्य कोषमा जम्मा हुने गरेको छ । सरकारले तयारी गरेको मध्यवर्ती क्षेत्र घोषणा कार्यान्वयनमा आए राजस्वको ५० प्रतिशत रकम आरक्षमै फर्कने अधिकृत श्रेष्ठले बताए ।
संरक्षण र विकासको अवधारणाअनुसार ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्न पहल थालिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us