प्रचण्ड भेट्न बाबुराम लाजिम्पाट

काठमाण्डु टुडे २०७१ जेठ ४ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका असन्तुष्ट नेता बाबुराम भट्टराईबीच आइतबार पुन: वार्ता भएको छ ।  Prachanda baburam

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आइतबार साँझ भएको छलफलमा केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा कुराकानी भएको थियो । छलफलमा भट्टराई पक्ष केन्द्रीय समितिमा फर्कन सकारात्मक देखिए पनि भागवण्डामा कुरा मिलेन ।

आफूहरुले उठाउँदै आएको राजनीतिक तथा वैचारिक विषय विशेष महाधिवेशनसम्म छलफलका लागि तल्ला कमिटीमा लैजान संस्थापन पक्ष तयार देखिएको सो पक्षका एक नेताले काठमाण्डु टुडेलाई बताए ।

विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराई पक्षका १५ सदस्यले सम्मानजनक स्थान नदिइएको भन्दै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका थिए । सहमति प्रयासमा दुई पक्षबीच दैनिकजसो छलफल हुँदै आएको छ ।

भट्टराई पक्षले विचार, राजनीति र संगठन सम्बन्धमा आफूहरुले उठाएका विषयमा प्याकेज सहमति हुनुपर्ने बताउँदै आएको छ । भट्टराईले आफूलाई वरिष्ठ नेता, टोपबहादुर रायमाझीलाई महासचिव र धर्मपत्नी एवम् नेतृ हिसिला यमीलाई पदाधिकारीमा लैजानुपर्ने माग अघि सारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us