युक्रेनमा कारवाही गर्न रुसी संसदको अनुमति

काठमाण्डु टुडे २०७० फागुन १८ गते ४:०७ मा प्रकाशित

रुसी संसदको माथिल्लो सदनले युक्रेनमा सैन्य कारवाही गर्न अनुमति दिएको छ। एउटा असाधारण बैठकपछि माथिल्लो सदनले त्यस्तो अनुमति दिएको हो।

यसअघि राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारवाही गर्न रुसी संसदको माथिल्लो सदनसँग अनुमति मागेका थिए।क्राइमियाका नवनियुक्त प्रधानमन्त्री सेरेगेइ अक्सियोनेभले त्यस क्षेत्रमा शान्ति बहाली गर्न सघाउन आग्रह गरेपछि उनले त्यस्तो कदम उठाएका हुन्।

रुसी संसदको त्यस्तो निर्णयपछि युक्रेनका अन्तरिम राष्ट्रपतिले राजधानी कियभमा आफ्ना सुरक्षा प्रमुखहरुको एउटा आपत्कालिन बैठक बोलाएका छन्।

यसअघि युक्रेनका अधिकारीहरुले रुसले ब्ल्याक सीस्थित उसको सैन्य अखाडा रहेको क्राइमिया क्षेत्रमा आफ्ना हजारौं सैन्य तैनाथ गरेको बताएका थिए।

युक्रेनका रक्षा मन्त्री इगोर तेनिउखले भने, “अहिले रुसी महासंघले झण्डै छहजार सैन्य तैनाथ गरेको छ। यो एउटा गम्भीर उल्लँघन हो। रुस तथा युक्रेनबीच मैत्री, सहयोग तथा साझेदारीसंबन्धमा भएको सन्धिको उल्लँघन गरिएको छ।“

यसैबीच इन्टरफ्याक्स समाचार संस्थासंग कुरा गर्दै ब्ल्याक सीस्थित रुसी बेडाले उसका सैनिकहरुले तिनका स्थानीय समर्थकहरुसंग संयुक्त गश्ती गरीरहेको जनाएको छ।

गत साताका नाटकीय घटनाहरुपछि रुसको विपक्षले मस्कोसमर्थित राष्ट्रपति भिक्टर यानुकोविचलाई सत्ताच्युत गरेको रुस क्रुद्ध भएको जस्तो देखिन्छ। उसले त्यस क्षेत्रमा आफ्नो सैन्य शक्त‌ि प्रदर्शन गरेर आफु चुप लागेर नबस्ने सन्देश दिइसकेको छ। संयुक्त राष्ट्र संघकालागि रुसी राजदूत भिताली चर्किनले भने, “वास्तवमा युक्रेनको स्थायित्व र समृद्धिकालागि अरु जो कोही जत्तिकै रुस महासँघ पनि उत्तिकै चिन्तित छ। म के पनि दावी गर्छु भने भूगोल र इतिहासका कारण अरुहरु भन्दा हामी युक्रेनप्रति बढी नै रुची राख्दछौँ।“

तर युक्रेनप्रति रुसको अभिरुची हस्तक्षेपको हदसम्म पुगेको पश्चिमा मुलुकहरुको ठम्याइ छ।राष्ट्रपति ओबामाले यदि रुसले सैन्य हस्तक्षेप गरेमा उसले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए।ह्वाइट हाउसमा बोल्दै ओबामाले युक्रेनमा जारी सैन्य गतिविधिप्रति चिन्ता व्यक्त गरे।उनले भने, “युक्रेनमा रुसी सैन्य क्रियाकलापहरु भइरहेका खबरबाट हामी चिन्तित भएका छौं, रुशको युक्रेनसंग ऐतिहाँसिक सम्वन्ध छ र क्रिमियामा सैन्य अखडा पनि छ। तर यदि त्यसले युक्रेनको सार्वभौमसत्ता र अखण्डतामाथि कुनै आँच आयो भने ठूलो हलचल मच्याउनेछ।”

स्वीडेनका विदेश मन्त्री कार्ल बिल्टले भने, “क्राइमियामा एउटा कठपुतली सत्ता कायम गर्न रुसी सैन्य हस्तक्षेप गरिएको स्पष्टै छ।”ब्रिटेनका विदेश मन्त्री विलियम हेगले आफ्ना रुसी समकक्षीलाई त्यस क्षेत्रमा तनाव घटाउन पहल गर्न आग्रह गरेका छन्।

क्राइमियाका विमानस्थलहरुमध्ये तीनवटा अहिले रुसी नियन्त्रणमा रहेको जस्तो देखिएको छ, यद्यपि रुसले ती समाचारहरुको खण्डन गरेको छ। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us