कानमा लगाउन मिल्ने कम्प्युटर आउँदै

काठमाण्डु टुडे २०७० फागुन १७ गते १२:०३ मा प्रकाशित

Ear Computerटोकियो, फागुन – कानमा लगाउन सकिने तथा परेलाको झप्काई तथा जिब्रोको क्लिकबाट चलाउन सकिने सानो व्यक्तिगत कम्प्युटर जापानमा परीक्षण भइरहेको छ ।

सत्र ग्राम तौल भएको तारविहीन यस यन्त्रमा ब्ल्युटुथ क्षमता रहेको छ र यसमा जीपीएस, कम्पास, जिरो सेन्सर, ब्याटरी, ब्यारोमिटर, स्पिकर तथा माइक्रोफोन रहेको बताइएको छ ।

लगाउन सकिने कम्प्युटर सामग्री आउँदा दिनमा प्रविधिमा नयाँ ठूला कुरा हुने प्राविधिक विश्लेषकहरूको भनाइ छ । यस प्रविधिमा गुगलको चस्मा हाल सबैभन्दा अग्रपङ्क्तिमा रहेको छ ।

यस कम्प्युटरलाई हाल ‘इएरक्लिप–टाइप वियरेबल पीसी‘ (कानमा लगाउन सकिने व्यक्तिगत कम्प्युटरको नाम दिइएको छ ।

यसमा माइक्रोचिप, तथ्याङ्क भण्डार तथा प्रयोगकर्ताले सञ्चालन गर्नसक्ने सफ्टवेयर रहेको जानकारी हिरोसिमा नगर विश्वविद्यालयका इन्जिनियर कजुहिरो तानिगुचीले दिए ।

यसको ढाचा फूलहरू मिलाएर राख्ने जापानी परम्परागत सीप इकेबानामा आधारित छ । उनले मानिसहरूले कानमा मुन्द्रा लगाएझैँ लगाउन सकुन् भन्ने अवधारणामा यसलाई तयार गरिएको बताए ।

प्राविधिकहरूले यो कम्प्युटर २०१५ को क्रिसमससम्म तयार हुने बताएका छन् र यसलाई आइपड तथा अन्य यन्त्रमा जोड्नसकिने बताइएको छ । यसका प्रयोगकर्ताहरूले यसलाई आफ्नो अनुहारको भाव, परेलाको भप्काइ, जिब्रोको फ्डकाइ, नाकको खुम्चाई वा दाँतको किटकिटाहटबाट सञ्चालन गर्न सक्नेछन् ।

यस कम्प्युटरमा इन्फ्रारेड सेन्सरको व्यवस्था छ र यसले कानभित्र यसको सञ्चालनाई अनुगमन गर्छ । यसलाई सञ्चालन गर्न हातको आवश्यकता नपर्ने भएकाले यसलाई पहाड्चढ्ने, मोटरसाइकल चालक,  अन्तरिक्षयात्री वा अशक्तले उपयोग गर्नसक्ने बताइएको छ ।

स्मार्टफोटनबाट यो इन्टरनेटमा जोडिने भएकाले यसबाट आफूबाट पर रहेका व्यक्तिसँग पनि कुरा गर्न सकिन्छ । यस कम्प्युटरलाई श्रवण क्षमता कम भएकाले सुन्ने सामग्रीको रूपमा र बिरामीको स्वास्थ्य, रक्तचाप, शरीरको तापक्रम नाप्ने यन्त्रको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

यसलाई कुनै बिरामी कतै ढल्दा त्यसका बारेमा जानकारी उसका नातेदार तथा एम्बुलेन्सलाई जीपीएस प्रविधिमार्फत दिन पनि प्रयोग गर्न सकिन्छ । यस्तो कम्प्युटर हाल हिरोसिमामा परीक्षण भइरहेको छ र सन् २०१६ को अप्रिलसम्म यो बजारमा आउने अपेक्षा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us