किन गएनन् सेनाको रात्रिभोजमा कुलबहादुर ?

काठमाण्डु टुडे २०७० फागुन १७ गते ५:५९ मा प्रकाशित

kul_bdr_khadka1काठमाण्डु, १७ फागुन– नेपाली सेनाले सेना दिवसका अवरसमा शुक्रबार सैनिक मुख्यालयस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरेको रात्रिभोजमा पूर्वरथी कुलबहादुर खड्का देखिएनन् ।

सैनिक मुख्यालयले औपचारिक पत्र पठाए पनि खड्काले रात्रिभोज बहिस्कार गरे । रात्रिभोजमा खड्का नगए पूर्वप्रधानसेनापति रुक्माङगत कटवाल भने शानका साथ सहभागी थिए ।

कटवालका अलावा भोजमा अधिकांश पूर्वप्रधानसेनापति, रथी, सहायक रथी, उपरथी र बहालवाला महासेनानीभन्दा माथिका सबै सैनिक अधिकृत सहभागी थिए । यस्तै नेपालस्थित विदेशी राजदूत र सबैजसो दैनिक र केही साप्ताहिक पत्रिकाका सम्दापक पनि भोजमा थिए ।

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सरकारको आदेश नमानेको र सेनाभित्र राजनीतिक चलखेल गरेको लगायत आरोपमा कटवाललाई बर्खास्त गरी वरिष्ठताका आधारमा खड्कालाई प्रभानसेनापति नियुक्ति गरेको थियो ।

तर त्यसको २४ घण्टा नबित्दै राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय उल्ट्याउँदै कटवाललाई पुनर्बहाली गरे । त्यसयता खड्का र कटवालको सम्बन्ध चिसो छ । त्यतिखेर कटवाललाई साथ दिएका गौरवमशेर जवरा अहिले प्रधानसेनापति छन् ।

तत्कालीन अवस्थामा सेनाको अपरेशन इन्चार्ज रहेका जवराले खड्कालाई पक्राउ गरी कोर्टमार्शल गर्नुपर्ने बताएका थिए । उच्च सैनिक अधिकारीहरुबाट उनीमाथि गद्धारको आरोप लाग्दै आएको छ ।

सेनापति प्रकरणमा आफूमाथि अन्याय भएको भन्दै खड्का जवरासहित सैनिक अधिकारीसँग रुष्ट छन् । कटवाल सेनापति रहेका बेला सेनाले आयोजना गर्ने कुनै पनि महत्वपूर्ण कार्यक्रममा खड्कालाई बोलाइएन ।

उनीहरुबीच कहिले काहीं भेटघाट हुँदा बोलचालसमेत हुँदैन । कटवालपछि प्रभानसेनापति भएका छत्रमानसिंह गुरुङले पनि आफूमाथि राम्रो व्यवहार नगरेको दुःखेसो खड्काको छ । गुरुङको कार्यकालमा उनलाई केही कार्यक्रममा बोलाइयो र केहीमा बोलाइएन ।

जवराले पनि त्यस्तै गर्दै आएका छन् । यसपटकको रात्रिभोजमा निम्ता आए पनि नगएको खड्काले बताए । ‘निम्ता आएको थियो

। जसले मलाई कोर्ट मार्शल गर्नुपर्छ भन्यो उसैले बोलाएको पार्टीमा गएर दुई पेग रक्सी खाएर धन्यवाद भन्न मेरो मनले मानेन’, खड्काले भने । उनले आफू जननिर्वाचित सरकारको निर्णयबाट नेपाली सेनाको प्रधानसेनापति भए पनि देशी विदेशी षड्यन्त्रका कारण काम गर्न नपाएको बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us