डेढ सय बढी शरणार्थी शिविर बाहिरै

काठमाण्डु टुडे २०७० फागुन ७ गते ९:५७ मा प्रकाशित

दमक, ७ फागुन – पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुमध्ये करिब डेढ सय बढी सिविर बाहिरै बस्ने गरेका छन् । झापा र मोरङका शरणार्थी शिविरमा नबस्ने ती भुटानी शरणार्थीको सङ्ख्या १७२ रहेको जनाइएको छ ।

सबैभन्दा बढी दमकको बेलडाँगीस्थित शिविरका शरणार्थीहरु बाहिर बस्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विभिन्न समयमा शिविरमा भएका आपराधिक गतिविधिले असुरक्षा बढेको भन्दै उनीहरुले शिविर छाडेका हुन् ।

शरणार्थीहरुले प्रशासनको स्वीकृतिमा मात्र शिविर बाहिर बस्ने अनुमति पाउँछन् । शिविरबाहिर बस्ने शरणार्थीहरु अधिकांश उपल्लो दर्जा तथा विभिन्न पेसाकर्मीहरु रहेको बताइएको छ । तर शिविर हेरचाहमा संलग्न स्थानीय सरकारी तथा दातृ संस्थाहरु भने यसबारे खुलेर बोल्न चाहँदैनन् ।

यसरी शिविरमा नबसे पनि उनीहरुले शरणार्थीको दर्जा पाइआएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us