राष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै दायर निवेदन खारेज

काठमाण्डु टुडे २०७० माघ ९ गते १३:५३ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, ९ माघ– वर्तमान राष्ट्रपति तथा उपराष्ट्रपतिलाई पदमुक्त घोषित गरी नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति नियुक्त गर्न माग गर्दै दायर रिट निवेदन आज सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले संविधानमा उल्लेख भएका र रिट निवेदकले दाबी गरेका राजनीतिक प्रश्नमा व्यवस्थापिका–संसद् हुँदा हुँदै अदालतले निर्णय गर्न नपर्ने भन्दै निवेदन खारेज गरेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिले राजीनामा दिनुपर्ने विषयमा अदालतले बाध्य गराउन न्यायसङ्गत नहुने र अर्को संविधानसभाको गठन भइसकेको र  धारा ८३(१) बमोजिम व्यवस्थापिका– संसद्को समेत काम गर्ने सो संस्थाले औचित्य र आवश्यकताअनुसार धारा १४८ बमोजिम संविधान संशोधन गर्न सक्ने भएकाले अदालतले आफ्नो अधिकार क्षेत्र ग्रहण गरी निर्णय प्रदान गर्नु औचित्यपूर्ण नहुने कुरा आदेशमा उल्लेख छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गत पुस २५ गते वर्तमान राष्ट्रपति तथा उपराष्ट्रपतिलाई पदमुक्त घोषित गरी नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति नियुक्त गर्न माग गर्दै  निवेदन दर्ता गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us