राष्ट्रपतिको चुनाव नभएसम्म सरकार बन्दैन : गौतम

काठमाण्डु टुडे २०७० माघ ९ गते १२:५६ मा प्रकाशित

bamdevकाठमाण्डु, ९ माघ– नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म नयाँ सरकार गठन हुन नसक्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले गरेको अन्तक्र्रिया कार्यक्रममा गौतमले नयाँ निर्वाचनपछिको संविधानसभाले पुरानो संविधानसभाबाट चयन भएका राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन नहुने अडानमा एमाले कायम रहेको भन्दै यो विषयमा नेपाली काँग्रेसको असहमति भएकाले नयाँ सरकार गठनमा ढिलाइ भइरहेको बताए ।

एमालेले यस विषयलाई संविधानसभामा भद्रतापूर्वक प्रवेश गराउने र सभाले यसलाई पारित नगरेमा मात्र काँग्रेसले भनेको आफूहरुले मान्ने गौतमको भनाइ थियो ।

‘सार्वभौमसत्तासम्पन्न संविधानसभा आइसकेको अवस्थनमा मरिसकेको संविधानसभाबाट निर्वाचित व्यक्तिलाई पदमा राख्नुहुँदैन,’ गौतमले भने, ‘यो लोकतन्त्रसम्मत छैन भन्ने हाम्रो मान्यता हो तर संविधानसभामा यो विचार पराजित भएमा मात्र हामी पुरानालाई मानेर जान्छौं ।’

एमालेको आउँदो नवौं महाधिवेशनका सन्दर्भमा गौतमले आफू पार्टीलाई सर्वसम्मत र एकताबद्ध बनाई पहिलो पार्टी बनाउनका लागिपर्ने जनाउँदै त्यसका लागि त्याग वा जिम्मेवारी लिन तयार रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us